उपसभामुख प्रकरणपछि कांग्रेसले दियो आफ्ना सांसदहरुलाई काठमाडौं नछाड्न आदेश
काठमाडौं । अमेरिकामा मानव तस्करी गरेको अभियोग लागेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समेत रहेकी उपसभामुख ईन्दिरा राना मगरको राजीनामालाई लिएर विवाद भइरहेका बेला नेपाली कांग्रेसले असोज ३ गतेसम्म आफ्ना सांसदहरुलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ ।
बुधबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई सूचना पठाएर असोज ३ गतेसम्म काठमाडौं उपत्यका बाहिर नजान निर्देशन दिएका हुन् ।
कांग्रेसले उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि काठमाडौं फर्किन भनेको छ । भदौ ३० गते बस्ने संसदको बैठकमा कांग्रेसका सांसदहरु सबैलाई उपस्थित हुन भनिएको छ ।
बुधबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले उपसभामुख ईन्दिरा राना मगरलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको छ ।
उपसभामुख रानाले २०२३ को फेब्रअरीको संयुक्त राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’को ६७औं सत्रमा जान लागेको भन्दै आफूहरुको भिसा अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूताबासलाई पत्र लेखेकी थिइन् ।
त्यही विषयलाई लिएर सत्तारुढ दलहरुले उनीमाथि प्रश्न उठाएका छन् । रानालाई अमेरिकामा मानव तस्करी गरेको अभियोग लागेपछि उपसभामुख पदबाट राजीनामा दिन भनिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया