प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने ११ जनालाई पोखरामा कांग्रेसद्वारा सम्मान
पोखरा । वीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने ११ जना व्यक्तित्वलाई सम्मान गरेको छ ।
पोखरामा बुधबार १११औं वीपी जयन्तीको अवसरमा आयोजित समारोमा नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले उनीहरूलाई सम्मान गरेका हुन् ।
उनीहरूलाई जनही २५ हजार रुपियाँ नगदसहित दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको कांग्रेसले जनाएको छ ।
सम्मानित हुनेमा दुुर्गादत्त पौडेल (नवलपुुर), तीलबहादुुर गुुरुङ (गोरखा), सानुुमाया गुुरुङ (लम्जुुङ), बुद्धिकुुमार बतास (तनहुँ), राज घले (मनाङ), भोजराज भण्डारी (कास्की), वेदप्रकाश पनेरु (स्याङ्जा), रुद्रलाल उपाध्याय (पर्वत), गोविन्द कंडेल (बाग्लुुङ), भैरवबहादुर हुमेल (म्याग्दी), कृष्णप्रसाद बरुवाल (मुस्ताङ) रहेका छन् ।
कांग्रेसका नेता डा.कोइरालाले वीपीको चिन्तालाई आत्मसात गर्न सकेमा कांग्रेस कहिल्यै पनि कमजोर बन्न नहुने बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले जनताको शासन गर्न जनताले नै पाउनुुपर्छ भन्ने विचारका साथ स्थापित नेपाली कांग्रेसले वीपीमा आदर्शलाई भुल्न नहुने बताए ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले वीपीले तत्कालीन समयमा अघि सारेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको चिन्तनलाई पूर्ण रुपमा अवलम्बन गर्न नसकेका कारण कांग्रेस कमजोर बनेको बताए ।
स्थापनाकालीन आदर्शलाई व्यवहारमा उतार्दै अघि बढेमा कांग्रेस कसैसँग पनि झुक्नु पर्ने र सधैं जनताको विश्वास जितिरहने डा.कोइरालाले बताए ।
सभापति एवम् वीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशका अध्यक्ष माधवप्रसाद बास्तोलले पुस्तकालयका तर्फबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा विभिन्न तवरले योगदान गरेका व्यक्तिहरूलाई वर्षेनि सम्मान गरिदै आएको बताए ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा.रघुराज काफ्लेले वीपी कोइराला प्रजातान्त्रिक समाजवाद र नेपाली कांग्रेसको आर्थिक कार्यक्रम विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन, नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री किरणबाबुश्रेष्ठ एवम् सम्मानित व्यक्तिहरूले वीपीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया