पर्यटनमन्त्री पाण्डेले दोस्रो वरीयताका जोशीलाई सीईओ बनाएपछि सर्वोच्चले माग्यो कारण
काठमाडौं । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिमा कारण देखाऊ आदेश जारी गरेको छ ।
बुधबबार न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्यकारी प्रमुख नियुक्ति सम्बन्धी विषयमा लिखित जवाफसहित उपस्थित हुन सरकारका र विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
नेपाल पर्यटन बोर्ड सञ्चालक समितिले सीईओमा दोस्रो नम्बरमा सिफारिस भएका दीपकराज जोशीलाई नियुक्त गरेको थियो ।
सीईओ नियुक्तिको वरीयताक्रम मिचेर गरिएको र आफू पहिलो नम्बरमा हुँदाहुँदै नियुक्ति नगरिएको भन्दै डा.धनञ्जय रेग्मीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेर कारण देखाउ आदेश मात्रै जारी गरेपछि जोशीले काम गर्न पाउनेछन् । सीईओमा जोशीको नियुक्तिलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको आलोचना भइरहेको छ ।
पाण्डेले चलखेल गरेर सीईओ छनौटमा पहिलो नम्बरमा सिफारिस भएका डा.रेग्मीलाई छुटाएर दोस्रो नम्बरका जोशीलाई नियुक्ति गरेको आरोप छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया