अमेरिकामा मानव तस्करीको अभियोग लागेकी उपसभामुखलाई राजीनामा दिन कांग्रेसको आग्रह
काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट राजीनामा दिन आग्रह गरेको छ ।
बुधबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा उपसभामुख रानालाई पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिइएको प्रमुख सचेतक श्याम घिमिरेले बताएका छन् ।
रानामाथि प्रश्न उठेकाले मार्ग प्रशस्त गर्न उपयुक्त हुने निष्कर्ष निकालेको प्रमुख सचेतक घिमिरेले पत्रकारहरूलाई बताएका छन् । उनले यो विषयमा सत्ता गठबन्धनको साझा धारणा बनाएर अघि बढ्ने बताएका छन् ।
‘कांग्रेसको बैठकअघि सत्तारुढ दलहरूसँग छलफल गरेर साझा धारणा बनाएर अघि बढ्छौं’, घिमिरेले भने, ‘यो उहाँमाथि गम्भीर प्रश्न उठेको छ । उहाँले त्यस्तो कुनै सिफारिस गर्ने मिल्दैन ।’
प्रमुख सचेतक घिमिरेले भने, ‘त्यसले संसदलाई नै अपमानित गरेको छ । यसले मुलुकको शिर झुकाएको कांग्रेसको बुझाइ छ ।’
कांग्रेसका नेताहरूले उपसभामुख रानाले मुलुकको शीर झुकाउने कार्य गरेको निष्कर्ष निकाल्दै राजीनामा मागेका हुन् ।
उपसभामुख रानाले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।
चार पुरुष र एक महिलाका लागि उपसभामुखले पत्र लेखे पनि अमेरिका जान भने पाएका थिएनन् ।
२०२३ को फेब्रुअरीमा लेखेको त्यही पत्र केही समय अघि सार्वजनिक भएको थियो । पत्र सार्वजनिक भए लगत्तै उपसभामुख राना गम्भीर विवादमा परेकी छिन् ।
‘यो चानचुन विषय होइन । उपसभामुखले गर्नै नहुने काम गर्नुभएको छ’, घिमिरेले भने, ‘उहाँले सिफारिस गर्नै मिल्दैन, परराष्ट्र मार्फत भएर जानुपर्ने कुरा आफैंले लेख्नुभएको छ । संसदलाई नै अपमानित गरेको छ भन्ने हाम्रो बुझाइ छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया