डरले थुरुरु भएका लामिछाने ९ महिनापछि पोखरा झरे, सहकारीपीडितहरूलाई अपराधी भने

पोखरा । सहकारीको रकम अपचलन र ठगी काण्ठमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र सहकारी ठगहरूलाई कारबाहीको माग गरेर पोखरामा प्रदर्शन भएको छ ।

रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री लामिछानेलाई कारबाहीको माग गर्दै सहकारीपीडितहरूले प्रदर्शन गरेका हुन् । लामिछाने पोखरा आएको थाहा पाउनेवित्तिक मंगलबार आकस्मिक रुपमा जम्मा भएका सयौं सहकारीपीडितहरूले प्रदर्शन गरेका हुन् ।

लामिछाने ९ महिनापछि पोखरामा आएका हुन् । उनले ९ महिना अगाडि पोखराको अमरसिंह चौरमा सभा गरेको थिए । त्यो सभामा सहभागी भएपछि लामिछाने ९ महिनापछि पोखरा टेकेका छन् ।

लामिछानेविरुद्ध सहकारीपीडितले कालो झन्डासहित प्रदर्शन गरेका छन् । मंगलबार पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकमा सहभागी हुन कडा सुरक्षा घेराका साथ उनी पोखरा आएका थिए ।

कार्यक्रमस्थल बिरौटाको ग्यालेक्सी बैंक्वेट अगाडि जम्मा भएका सहकारीपीडितले नाराबाजी गर्दै कालो झन्डा देखाएपछि आक्रोशित बनेका लामिछानेले प्रदर्शनकारीलाई अपराधीको संज्ञा दिएका छन् ।

बैठकमा सम्बोधनका क्रममा सभापति लामिछानेले अधिकांश समय सहकारी ठगी काण्डमा आफू निर्दोष रहेको बताएका थिए ।
लामिछानेले भने, ‘कस्तो संघर्ष समिति हो ? अपराध गर्दै हुनुहुन्छ साथीहरू । तपाईंले गलत मान्छेलाई टार्गेट गरेर लाखौं सहकारीपीडितमाथि अन्याय गर्दै हुनुहुन्छ ।’

नेपाल प्रहरी र सशस्त्र प्रहरीको घेराबन्दीमा बैठक गरिएको थियो । बैंक्वेटको गेटबाटै सञ्चारकर्मीलाई प्रवेश दिइएको थिएन । पार्टी कार्यकर्ताहरूलाई पनि मोबाइल नचलाउन र भिडियो नखिच्न भन्दै सभापति लामिछानेले निर्देशन दिएका थिए ।

आफ्नो बोल्ने पालो आएपछि लामिछाने मञ्चमा पुगेर भिडियो खिचिरहेका कार्यकर्तालाई भिडियो नखिची आफ्नो कुरा सुन्न भन्दै हप्काएका थिए ।

‘सहकारीपीडितका लागि लड्नुभएको भए मेरो साथ छ, सलाम छ । जो मानिसले गल्ती गरेको छैन, अपराधमा संलग्न छैन, उसैलाई दोषीझैं गरी कसैले उक्साएको भरमा तपाईंहरूले विरोध गरिरहनुभएको छ । तपाईंले विरोध नगरिदिनुभएको भए तपाईंको न्यायका लागि लड्ने मान्छेको अग्रपंक्तिमा रवि लामिछाने हुने थियो’, उनले भने ।

‘लाखौं सहकारी बचतकर्ताको रकम फिर्ता दिनुपर्ने विषय, त्यो आन्दोलनमा हामी पनि अग्रपंक्तिमा आउनुपर्ने ठाउँमा गलत मान्छेलाई आरोप लगाएर विषय अन्तै मोड्नुभएको छ’, उनले भने ।

गोर्खा मिडिया नेटवर्क र जीबी राईले गरेको बदमासी सर्वसाधारणले थाहा पाएपछि आफूले पनि थाहा पाएको सभापति लामिछानेले बताएका छन् ।

सभापति लामिछानेले कांग्रेस–एमालेको सरकारले आफू निर्दोष भएकैले अहिलेसम्म पक्राउ नगरेको दाबी गरेका छन् । ‘यो विषय उठेको १७÷१८ महिना भयो । चार महिना हामी सरकारमा भयौं होला । बाँकी दिन मैले गल्ती गरेको भए, के यिनीहरूले मलाई दया गरेर, माया गरेर छाडेका हुन् र ?’, उनले प्रश्न गरेका छन् ।

‘आफ्नै पार्टीको बालकृष्ण खाणलाई घरको ढोका फोडेर घोक्रेठ्याक लगाएर जेल हाल्नेहरूले रवि लामिछानेलाई दया गरेर, माया गरेर, कठै बिचरा भनेर छाडेका होइन्’, सभापति लामिछानेले भने ।

जीबी राईलाई झिकाउनुपर्ने, गोर्खा मिडियामा रहँदा अपचलन गरेको रकम फिर्ता गर्नुपर्ने, दोषीलाई कारबाही हुनुपर्ने माग पीडितहरूले गरेका थिए ।

Published : Wednesday, 2024 September 11, 12:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया