सहकारी ठगी काण्डबाट बचाउन प्रधानमन्त्री ओलीसँग सभापति लामिछानेको आग्रह
काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा जेल चलान हुने सम्भावना बढेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी ओलीलाई भेट गरेका छन् ।
मंगलबार साँझ लामिछानेले ओलीलाई भेट गरेका हुन् । लामिछानेले आफूलाई सहकारी काण्डबाट बचाउन प्रधानमन्त्री ओलीसँग अनुरोध गरेको उच्च स्रोतले जनाएको छ ।
सहकारी ठगीको सम्बन्धमा अनुसन्धान र छानविन गर्न बनेको संसदीय छानविन समितिले प्रतिवेदन ल्याउने तयारी गरिरहेका बेला लामिछानेले ओलीलाई दोस्रो पटक भेट गरेका छन् । यसअघि पनि बालुवाटारमा ओलीलाई भेट गरेर लामिछानेले सहकारी काण्डबाट बचाउन अनुरोध गरेका थिए ।
गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक भएका बेला लामिछानेले सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा मुछिएका छन् । लामिछानेविरुद्ध सहकारी काण्डमा कारबाहीको माग जबरजस्त रुपमा उठ्दै आएको छ ।
मंगलबार पोखरामा पनि लामिछानेविरुद्ध प्रदर्शन भएको छ । सहकारीपीडितहरुले सभापति लामिछानेलाई कारबाहीको माग गर्दै सडकमा प्रदर्शन गरेका छन् ।
पोखराको कार्यक्रममा भाग लिन विमानस्थलमा उत्रिएका सभापति लामिछानेविरुद्ध नाराबाजी भएपछि लामिछाने रिसाएका थिए । कार्यक्रममा आफ्नो विरोध गर्नेहरुविरुद्ध जाइलाग्न लामिछानेले आदेश दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया