माओवादीका अराजक सांसदको अभिव्यक्तिको कांग्रेस सांसद खतिवडाद्वारा विरोध
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तीले अराजक शब्दावली प्रयोग गरेपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आपत्ति जनाएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा माओवादीका सांसद घर्तीले गधा शब्द बोलेका थिए । घर्तीले गधा शब्द बोलेपछि संसदको रेकर्डबाट हटाउन खतिवडाले माग गरेका छन् ।
माओवादी केन्द्रका सांसद घर्तीले आफ्नो भनाई राख्ने क्रममा सत्ता पक्षमा हुँदा एउटा बोली हुने र विपक्षमा हुँदा अर्को बोली हुने व्यवहार हटाउनुपर्ने सांसद खतिवडाले बताएका थिए ।
सांसद घर्तीले सरकारलाई लक्षित गर्दै एउटा कथा सुनाए, स्यालको बिहेमा गधा र उँटको बाजाबारे । घर्तीले भने, ‘स्यालको बिहेमा बाजा बजिरहेको रहेछ, गधाले गीत गाएछ, उँटपनि त्यहाँ आएर नाचेछ । गधाले भनेछ–‘वाह क्या रूप छ तपाईँको त, अति सुन्दर भनेर उँटको प्रशंसा गरेछ । उँटले पनि गधालाई भनेछ, वाह तपाईँको पनि क्या राम्रो स्वर ।’ अहिलेको सरकार पनि त्यस्तै, न गधाको राम्रो स्वर हुन्छ, न उँटको कुनै रूप हुन्छ । त्यस्तै हो ।’
सांसद घर्तीले विपक्षमा हुँदा एउटा कुरा गर्ने व्यक्ति प्रधानमन्त्री भएपछि आडम्बरी शैलीमा अर्को कुरा गरेको नसुहाउने बताए ।
घर्तीले उपसभामुख भएको एक महिनापछि इन्दिरा रानाले दूतावासलाई पत्र लेखेको बेलामा एमाले र त्यसपछि कांग्रेस पनि सत्तामा रहेको बताए । त्यतिबेला चाहिँ राष्ट्रको शिर ननिहुरिने तर, अहिले दुई तिहाइको दम्भ भएपछि निहुरिने भन्दै प्रश्न गरेका थिए ।
सांसद घर्तीले संसदमा गधा शब्द प्रयोग गरेको र त्यो गैरसंसदीय शब्द भनेर कांग्रेसका सांसद खतिवडाले आपत्ति जनाउँदै संसदको रेकर्डबाट हटाउन माग गरेका थिए ।
खतिवडाले भने, ‘आफू सरकारमा हुँदा गाई हुने, अरू सरकारमा हुँदा गधा हुने, यो गधा भन्ने शब्द अहिले संसद्को रेकर्डबाट हटाइयोस् । संसदीय मर्यादा विपरीत छ । कथामा गाई कहाँ छ, गधा कहाँ छ हेरौँला तर यो गधा शब्द संसदीय शब्द हैन, त्यसैले हटाइहालौँ ।’
सभामुख देवराज घिमिरेले सांसद घर्तीले कुनै व्यक्तिलाई लक्षित नगरी प्रतीकको रूपमा आएकोले शब्द शब्दमा झगडा नगर्न आग्रह गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया