केही हुँदैन भन्ने भाष्य हटाऔं : अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले लोभलालच नराखी काम गरे सबै क्षेत्रमा सफलता मिल्ने भएकाले केही हुँदैन भन्ने भाष्य त्याग्न सबैलाई आग्रह गरेका छन् ।

अध्यक्ष बस्नेतले नकरात्मकता त्यागेर सफलताका लागि रचनात्मक पहल लिए प्रभावकारी परिणाम आउने बताए ।

कामप्रति पूर्ण प्रतिवद्ध भइ गरेका ३ वटा आयोजना सफल भएको उदाहरण सामाजिक सञ्जालमार्फत सोमबार राख्दै उनले भने, ‘लोभलालच नगरी, डेडिकेटेड भई काम गर्दा प्रभावकारी र सफल हुन्छ भन्ने यी ३ आयोजनाले देखाउँछ– सुनकोशी मरिण डाइभर्सन, नागढुङ्गा सुरूँगमार्ग र मध्य पहाडी लोकमार्ग ।’

गरे के हुँदैन भन्दै अध्यक्ष बस्नेतले त्यसका लागि जनमानसमा उठेको गलत भाष्य त्याग्न सुझाव दिएका छन् । यी ३ आयोजना मात्र नभै अन्य पनि उदाहरण रहेको र ती आयोजनाले देशको विकासमा विशेष स्थान राख्ने उनले उल्लेख गरेका छन् ।

‘त्यसैले यहाँ केही हुदैन भन्ने गलत भाष्य छाड्दै जाउँ । नकरात्मक होइन, रचनात्मक बनौं । इमान्दार, लगनशील र कर्मठ बनेर काम गरे केही नहुने होइन, पक्कै हुन्छ’, अध्यक्ष बस्नेतले भने ।

मिडियाको गलत प्रस्तुतिका कारण सिंगो समाजमा गलत भाष्य स्थापित भएको भन्दै काउन्सिलले केही महिनादेखि रचनात्मक पत्रकारितालाई अभियानकै रुपमा बहस चलाएको छ ।

काउन्सिलले बोर्ड बैठकबाट अबको पत्रकारिता समाधानमुखी र रचनात्मक हुनुपर्ने र त्यसलाई देशब्यापी बनाउने निर्णय भएको थियो ।

युट्युवसहित सामाजिक सञ्जालमा देखिएका बेथिति रोक्न काउन्सिलले यस्तो अभियान थालेको हो ।

प्रेस काउन्सिलले पछिल्लो समयमा एकपक्षीय, आधारहीन र तथ्यहीन सूचना सम्पे्रषण गर्ने युट्युवसहितका मिडियालाई कडा कानूनी कारवाही गर्दै आएको छ ।

Published : Tuesday, 2024 September 10, 8:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया