विवादास्पद ठेकेदारले दिएको घरमा बस्दै आएका प्रचण्डले सरकारलाई बिचौलिया र दलालले बनाएको भने
लहान । विवादास्पद निर्माण व्यवसायी अर्थात् ठेकेदार शारदा अधिकारीको घरमा बस्दै आएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई दलाल र बिचौलियाले बनाइदिएको भनेर तथानाम अभिव्यक्ति दिएका छन् ।
विवादास्पद ठेकेरा शारदा अधिकारीले दिएको घरमा बस्दै आएका दाहालले अहिलेको सरकार दलाल र बिचौलियाहरूले बनाइदिएको सरकार भएको बताए ।
मंगलबार सिरहाको मिर्चैयामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले भ्रष्टाचारीहरूलाई कारबाही गर्दै सुशासनका पक्षमा अभियान थालेपछि कांग्रेस र एमालेका नेताहरू भयभित भएर दलाल र बिचौलियाहरूको अगुवाइमा अहिलेको सरकार बनाएको बताए ।
दाहालले भने, ‘ठूल्ठूला भ्रष्टाचारी र अत्याचारीहरू पक्राउ पर्न थालेपछि कांग्रेस र एमालेका नेताहरू आफू पनि पर्ने हो कि भनेर आतंकित भए । अनि दलाल र बिचौलियाहरूले अँध्यारा कोठामा उनीहरूलाई मिलाइदिए ।’
दुई ठूला दल नै मिल्नु संसदीय व्यवस्थाका लागि अप्राकृतिक र अस्वभाविक रहेको पनि उनले बताए । यो सरकार बन्नुको पछाडि स्वार्थ रहेको र यसरी बनेका सरकारले मुलुक र जनताका हितमा काम गर्छ भन्ने अपेक्षा नराखे पनि हुने दाहालले बताएका छन् ।
दाहालले आफू प्रधानमन्त्रीको दौडमा अहिले नरहेको बताएका छन् । ‘म प्रधानमन्त्री बन्ने रेसमा छैन, हामी सरकार बनाउन लाग्दैनौं’, दाहालले भने, ‘हामी अब पार्टी बनाउने काममा जुटेका छौं ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया