सहकारीको करोडौं रकम गलत ढङ्गले गोर्खा मिडियामा आएको लामिछानेद्वारा स्वीकार
काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिमा गलत ढंगले सहकारीको रकम आएको स्वीकार गरेका छन् ।
सोमबार धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले गोर्खा मिडियामा गलत ढंगले रकम आएको विषयमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् ।
‘गोर्खा मिडिया लगायतका संस्थाहरुमा सहकारीबाट गलत ढंगले पैसा गएको स्थापित भएको कुरा हो’, लामिछानेले भने ।
आफू गोर्खा मिडियामा भएकै कारण अरुले गरेको बदमासीको जिम्मेवारी लिनुपर्छ भन्ने नहुने लामिछानेले बताएका छन् । कसले बदमासी ग¥यो भनेर प्रहरी अनुसन्धानले देखाइसकेको उनले बताए ।
लामिछानेले भने, ‘त्यसमा मेरो संलग्नता छ कि छैन भन्ने जुन विषय हो, मैले लाभ लिएको हुनुप¥यो ।’
उनले संसदको छानविन समितिले समस्या समाधान केन्द्रित भएर प्रतिवेदन दिनुपर्ने धम्की दिएका छन् । उनले भने, ‘मलाई आशा छ, यसले निकास दिन सक्नेछ ।’
सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डबारे आफूलाई थाहा छैन भन्ने अभिव्यक्ति दिँदै आएका लामिछानेले अहिले आएर गोर्खा नेटवर्कमा गलत ढंगल रकम आएको स्वीकार गरेका छन् । संसदीय छानविन समितिले प्रतिवेदन ल्याउने तयारी गरिरहेका बेला लामिछानेले सहकारीको रकम आएको स्वीकार गरेका हुन् । अब लामिछाने फस्ने सम्भावना झन् बढेर गएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया