संविधान संशोधनमा बृहत छलफल, सरकारलाई प्रभावकारी बनाउने सहमति
काठमाडौं । नेपाली कांग्रेस, एमालेसहित सत्तारुढ दलहरूले संविधान संशोधनका लागि बृहत् छलफल गर्ने समझदारी गरेका छन् ।
सोमबार बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकमा संविधान संशोधनका लागि छलफल भएको हो । छलफलमा संविधान संशोधनका लागि बृहत छलफल गर्ने सहमति बनेको छ ।
कांग्रेस–एमालेबीच असार तेस्रो साता भएको सात बुँदे सहमतिअनुसार संविधान संशोधन गर्न प्रमुख राजनीतिक दल र सम्बन्धित पक्षसँग छलफल गरेर मात्रै अघि बढाउने दलहरूबीच समझदारी भएको हो ।
सत्तारुढ दलको बैठक संविधान संशोधन गर्ने विषयमा केन्द्रित भएको छ । संविधान संशाधेन गर्न सबै दलसँग बृहत् छलफल गर्ने कुरा भएको नेताहरुले बताएका छन् ।
सबै दलको विचार विमर्श बुझेर संविधान संशोधनको विषयलाई निष्कर्षमा पु¥याउन बैठक केन्द्रित रहेको नेताले बताएका छन् ।
संविधान जारी हुँदा धेरै पक्ष असन्तुष्ट थिए । ती असन्तुष्टिलाई सम्बोन गरी अझै राम्रो संविधान बनाउनुपर्छ भन्ने जोड रहेको छ ।
राजनीतिक दल र असन्तुष्ट पक्षसँग छलफल गरी अघि बढ्ने निष्कर्षमा सत्तारुढ दल सहमत बनेका छन् ।
यसका साथै सरकारलाई बलियो र कामकारबाही प्रभावकारी बनाउन प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवाले जोड दिएका छन् ।
सत्तारुढ दलले सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउने निष्कर्ष निकालेका छन् । सरकारलाई कसरी बलियो बनाएर अघि जान सकिने नेताहरुले बताएका छन् । सरकारले गर्ने कामलाई अझै प्रभावकारी बनाउन पनि छलफल भएको नेताहरुले बताएका छन् ।
एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकार र संसदको कामलाई प्रभावकारी, सन्तुलित, व्यवस्थित ढंगबाट अघि बढाउने विषयमा छलफल भएको बताए ।
सरकारका समग्र काम प्रक्रियाहरुमा सिंगो सत्तापक्ष कसरी एकीकृत धारणाका साथ अघि बढ्ने ? भन्नेबारेमा पनि छलफल भएको उनको भनाइ छ ।
न्यूनतम साझा कार्यक्रमको प्रक्रिया अघि बढाउन शीर्ष नेताहरुबाट निर्णय भइसकेकाले सरकार निर्माणताका भएको सात बुँदे सम्झौताअनुसार नै सरकारको न्युनतम साझा कार्यक्रम बन्ने बताएका छन् ।
बर्तौलाले भने, ‘आजको छलफल र बैठकको उद्देश्य भनेको सरकार र संसद्को कामलाई कसरी प्रभावकारी ढंगबाट अघि बढाउने, सरकार संसद्को कामलाई कसरी सन्तुलित ढंगबाट, व्यवस्थित ढंगबाट अघि बढाउने र सँगै सरकारलाई समग्र काम प्रक्रियाहरुमा सिंगो सत्तापक्ष कसरी एकीकृत धारणाका साथ अघि बढ्ने ? यिनै विषयहरुमा छलफल केन्द्रित थियो । यो सरकार निर्माणका केही समझदारीहरु पनि थिए । विशेष गरी नेपाली कांग्रेस र नेकपा एमालेको बीचमा ७ बुँदे समझदारी भएको थियो । त्यो समझदारीको जगबाट हामीले सरकार सञ्चालन गर्ने प्रतिवद्धता गरेका थियौँ । न्यूनतम साझा कार्यक्रमको प्रक्रिया अघि बढाउन निर्णय भइसकेको छ ।’
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले एमाले र कांग्रेसबीच सरकार बन्ने बेलामा भएको सात बुँदे सहमतिको सेरोफेरोमा रहेर विस्तृत रुपमा सरकारका न्यूनतम साझा कार्यक्रम बनाउनेबारे छलफल अघि बढेको बताएका छन् ।
घिमिरेले भने, ‘नेकपा (एमाले) र नेपाली कांग्रेसबीच सरकार बन्ने बेलामा सात बुँदे सहमति भएको थियो । यसलाई अझ विस्तृत रुपमा अघि बढाउने कुरामा सरकार लागेको छ । साझा न्युनतम कार्यक्रम अब सात बुँदे सहमतिअनुसार आउनेछ ।’
प्रमुख सचेतक घिमिरेले संविधान संशोधनमा बढी भन्दा बढी राजनीतिक दलहरुको सहमति जुटाएर संशोधन गर्नेबारे समेत छलफल भएको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया