ओखलढुङ्गामा बाढीपहिरोले क्षति पुगेका सडक र बाटोहरु मर्मत गर्न कांग्रेस सांसद खतिवडाको माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ओखलढुङ्गा जिल्लामा स्थानीय तहहरुमा जाने सडक बाढीपहिरोका कारण भत्किएको भन्दै मर्मत सम्भारका लागि सरकारसँग माग गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद खतिवडाले भने, ‘ब्याकुल माइला र सिद्धिचरण श्रेष्ठले चिनाएको ओखलढङ्गाका स्थानीय तहमा जाने बाटाहरु, बाढीपहिरो र वर्षातले ध्वस्त भएका छन् । ती सबै वडा र पालिकामा जाने बाटोहरु छिटो निर्माणका लागि अनुरोध गर्न चाहन्छु ।’
सांसद खतिवडाले सर्वोच्च अदालतको फैसालाले काठमाडौं उपत्यकाभित्र नदी किनारमा बस्ने सर्वसाधारणहरु मर्कामा परेको बताएका छन् ।
उनले भने, ‘सर्वोच्च अदालतको फैसलाको कारणले उपत्यकाबासीहरु जो नदी किनारमा बसिरहनुभएको छ उहाँहरुलाई साह्रै पिरमर्का परेको छ ।’
‘दायाँ बायाँ २० मिटर बाटो छोड्ने निर्णयले कयौँको उठिबास हुने सम्भावना छ’, खतिवडाले भने, ‘यसलाई सरकारले छिटो भ्याकेटमा गएर जनतालाई सहज हुने गरेर काम गरोस् ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया