कीर्तेमा सजाय पाएर फरार लुम्बिनी प्रदेशसभा सदस्य केसी पैसा बुझाएर निस्किए

घोराही । कीर्ते मुद्दामा दोषी ठहर भई कारागार चलान भएका लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य धनबहादुर केसीले कानूनअनुसार दण्ड जरिवाना बुझाएर रिहा भएका छन् ।

सोमबार केसी कानूनअनुसार कैदको सट्टामा रकम तिरेर रिहा भएको जिल्ला अदालत रुकुम पूर्वका निमित्त श्रेस्तेदार राधाकृष्ण रिजालले बताएका छन् ।

फौजदारी अपराध संहिता २०७४ को दफा १५५ को सुविधा अनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रुपियाँ तिरेर केसी रिहा भएका हुन् ।

रिजालले भने, ‘उहाँले कानून अनुसार नै धरौटी बुझाएर छुट्नु भएको हो । ३६५ दिनमा एक दिन जेल बस्नुभयो । ३६४ दिनको १ दिन बराबरको ३ सय रुपियाँका दरले १ लाख ९ हजार २ सय रुपियाँ बुझाएर रिहा हुनु भएको छ ।’

आइतबार रूकुम पूर्व जिल्ला अदालतले कीर्ते मुद्दामा दोषी ठहर भएका लुम्बिनी प्रदेश सभाका सदस्य केसीलाई कैद भुक्तानका लागि कारागार चलान गर्न आदेश दिएको थियो । आइतबार रूकुम पूर्व जिल्ला अदालतले केसीलाई रुकुम पश्चिम कारागार पठाएको थियो ।

साबिक रुकुम जिल्ला अदालतले केसीलाई श्रीमतीसँगको अंश मुद्दामा कीर्ते गरेको अभियोगमा २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो ।

अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । त्यसपछि केसी फरारको सूचीमा थिए ।

मानव तस्करको अभियोग लाग्दै आएका केसी विगतमा प्राथमिक विद्यालयको स्थायी शिक्षक थिए । केसीका ३ पत्नी हुन् ।

पत्नीसँगको मुद्दापछि केसी फरार भएर युरोप लगायतका विभिन्न देश बसेर कमाइ गरेर नेपाल फर्किएका थिए । त्यसपछि उनले तल्लोबाट हिँडेर अमेरिका नेपालीलाई पठाउने धन्दा चलाएका थिए ।

केसीलाई मानव तस्करको अभियोगमा प्रहरीले उच्च निगरानीमा राख्दै आएको छ । कांग्रेसबाट लुम्बिनी प्रदेश सभाको सदस्य भएका कारण केसी बच्दै आएका छन् ।

Published : Monday, 2024 September 9, 7:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया