राजनीतिक दलका नेता र शक्तिकेन्द्रसँग भेट नगर्न प्रहरीरूलाई आईजीपीको आदेश
काठमाडौं । नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरले मातहतका कर्मचारीहरूलाई आफूभन्दा माथिल्लो कार्यालय तथा अधिकारीको पूर्व स्वीकृतिविना शक्तिकेन्द्रसँग भेटघाट नगर्न निर्देशन दिएको छ ।
आइतबार प्रहरी प्रधान कार्यालयले आन्तरिक परिपत्र गरी शक्तिकेन्द्रसँगको भेटघाटमा रोक लगाएको हो । आईजीपी कुँवरको आदेशमा हेडक्वाटरले गरेको सर्कुलरमा राजनीतिका साथै विभिन्न शक्तिकेन्द्रसँग भेटघाट गर्न रोक लगाइएको छ ।
तालुक कार्यालयको स्वीकृतिविना कसैले अमुक व्यक्ति तथा शक्तिकेन्द्रसँग भेट गर्न नपाउने व्यवस्था गरेको परिपत्रमा उल्लेख छ ।
प्रहरी प्रधान कार्यालयबाट जारी परिपत्र उल्लंघन गरी अनुमतिविना भेटघाट गर्ने कर्मचारीलाई अभिलेखमा जनिने गरी हदैसम्मको विभागीय कारबाही गर्ने चेतावनी आईजीपी कुँवरले दिएका छन् ।
परिपत्रमा भनिएको छ, ‘कर्तव्य पालनाको सिलसिलामा बाहेक अन्य कुनै अमुक शक्तिकेन्द्र वा व्यक्तिसँग भेट गर्नुपर्नाको प्रयोजन खुलाइ तालुक कार्यालयमा जाहेरी गरी पूर्व स्वीकृति लिएर गरिने सम्पर्कबाहेक संगठनको मूल्यमा व्यक्तिगत स्वार्थ पूर्तिको लागि गरिने अशोभनीय भेटघाट, सांगठनिक कामकारबाहीमा बाह्य प्रभाव पार्नेलगायतका कुनैपनि गैरव्यवसायिक अनुशासनहीन एवं आत्मकेन्द्रित क्रियाकलापमा कुनैपनि प्रहरी कर्मचारी संलग्न रहेभएको पाइएमा त्यसलाई नै प्रमाणको रुपमा लिई अभिलेखमा जनिने गरी प्रहरी नियमावली बमोजिम हदैसम्मको सजाय हुने हुँदा सो व्यहोरा गम्भीरतापूर्वक हृदयंगम गरी कार्यालय प्रमुख तथा मातहतमा काम गर्ने सबै प्रहरी कर्मचारीलाई सुनी सुनाइ सोको व्यहोरा यस सचिवालयमा प्रेषित गर्नु हुन निर्देशानुसार अनुरोध छ ।’
परिपत्रमा भनिएको छ, ‘विभागीय नीतिनियमको धज्जी उडाउने, सांगठनिक गोपनीयता भंग गर्ने, नागरिक–प्रहरीबीचको अनुशासनात्मक एवं व्यवसायिक विश्वासको प्रतिकूल एवं पदीय दायित्वअनुसारको जिम्मेवारी निर्वाह गर्दा खरो रुपमा उत्रनु पर्नेमा सो नगरी शक्तिका अगाडि समर्पित हुने गरी कुनै विशेष व्यक्ति र शक्तिको अगाडि नतमस्तक भई संगठनमाथि अनावश्यक दबाब र प्रभावको सिर्जना गरी जिम्मेवारी प्रति उदासिन रहने गरेको भन्ने घटनाप्रति प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया