पहिरोमा परेर ३ जनाको मृत्यु

काठमाडौं । पहिरोमा पुरिएर जाजरकोटमा दुई जनाको मृत्यु भएको छ ।

बारेकोट गाउँपालिका–६ तल्लो टोल धुम बस्ने ४७ वर्षीय मानबहादुर चलाउनेको घर शनिबार राति पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

पहिरोले पुरिएर मानबहादुर र उनकै श्रीमती ४८ वर्षीया प्रेमकुमारी चलाउनेको मृत्यु भएको छ ।

मानबहादुरको घर पहिरोले पुरिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नायकवाडाबाट खटिएको प्रहरीले आवश्यक उद्दार एवम् खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको छ ।

पहिरोमा परी घाइते भएकी ११ वर्षीया सम्झना चलाउनेलाई उपचारको लागि प्रादेशिक अस्पताल कालागाउँ सुर्खेततर्फ पठाइएको छ ।

उता, डोटीको आदर्श गाउँपालिका–३ आगर बस्ने ६१ वर्षीया कौमतीदेवी ऐरको पहिरो सहित आएको ढुंगाले लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।

सोही गाउँपालिका–६ सवखोलास्थित छोरीको घर जाने क्रममा सोही गाउँपालिका–३ धनियाँ खोलास्थित बाटोमा हिँडिरहेको अवस्थामा पहिरो सहित आएको ढुंगाले लागेर उनको घट्नास्थलमै मृत्यु भएको हो ।

घाइते भएकी सोही गाउँपालिका–३ बस्ने कर्ण बहादुर ऐरकी छोरी १४ वर्षीया भुवनेश्वरी ऐरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

Published : Sunday, 2024 September 8, 2:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया