तीन पूर्वमन्त्री एमालेमा प्रवेश गर्ने धम्की, माधव नेपाल एकईञ्च हल्लिएनन्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) विभाजन हुने चर्चा चलिरहेका बेला उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टी फुट्ने कुराको खण्डन गरेका छन् ।

आइतबार बिहान पत्रकार ऋषि धमलासँग रेडियो अन्तर्वार्तामा उपाध्यक्ष खतिवडाले पार्टी विभाजन नहुने बताए । उनले पार्टी विभाजनको हल्ला फैलाउनेहरू गलत रहेको बताए ।

नेकपा (एकीकृत समाजवादी)का दुई जना सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ र प्रेम आले तथा पोलिट व्यूरो सदस्य रामकुमारी झाक्रीले पार्टी विभाजन गरेर एमाले प्रवेश गर्न लागेको निकै चर्चा छ । श्रेष्ठ, आले र झाक्रीले पार्टी विभाजन वा सानो समूह बनाएर भए पनि एमालेमा प्रवेश गर्न रुची देखाएको चर्चा छ ।

झाक्री महिला उपाध्यक्ष पदमा पराजित भएकी छिन् । नेतृ झाक्रीको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग दुरी बढेको छ । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीसँग निरन्तर सम्वादमा रहेकी नेतृ झाक्रीका गतिविधि अध्यक्ष नेपाललाई मन परेको छैन ।

एमालेका अध्यक्ष ओलीले पनि यी तीन नेताहरूलाई विश्वास गर्दैनन् । श्रेष्ठ, आले र झाक्रीलाई ओलीले भाउ नदिएका कारण उनीहरू तनाबमा छन् । ओलीले विश्वास नभएका यी नेताहरूलाई एमालेमा प्रवेश गराउने रुची नदेखाएपछि नेकपा (एकीकृत समाजवादी)मा थन्किएर बसेका छन् ।

अध्यक्ष नेपालले जयन्तीदेवी राईलाई उपाध्यक्षमा विजयी बनाउन भूमिका खेलेपछि नेपाल र झाक्रीको दुरी झन् बढेर गएको छ । झाक्रीलाई नेकपा (एकीकृत समाजवादी)मा रहन निकै असहज अवस्था सिर्जना भएको छ ।

सांसदद्वय श्रेष्ठ र आलेले पनि पार्टीभित्र विश्वास गुमाएका छन् । उनीहरूले अध्यक्ष नेपालविरुद्ध गतिविधि गरेपछि विश्वास गुमाएका हुन् ।

पूर्वमन्त्री समेत रहेका श्रेष्ठ र आले अवसरवादी नेताका रुपमा परिचित छन् । अध्यक्ष नेपाल सांसदद्वय श्रेष्ठ र आले पार्टी छाडेर गए पनि चिन्तित हुने पक्षमा छैनन् । सांसदद्वय श्रेष्ठ र आले तथा नेतृ झाक्रीले पार्टी छाड्दा पनि ठूलो क्षति नहुने भन्दै अध्यक्ष नेपालले उनीहरूलाई रोक्ने पक्षमा रुची देखाएका छैनन् ।

नेकपा (एकीकृत समाजवादी)को पहिलो अधिवेशनसँगै पार्टीले राम्रो पहिचान बनाउन लागेको छ । अध्यक्ष नेपालले पार्टीलाई संगठित रुपमा बलियो बनाएर लगेका छन् । दुई/चार जना नेता र सांसदहरूले पार्टी फुटाउने वा छाड्ने धम्की दिँदैमा डराउने पक्षमा अध्यक्ष नेपाल छैनन् ।

नयाँ पुस्ता र पुरानो पुस्ता दुबैलाई समेटेर अध्यक्ष नेपालले अधिवेशनबाट नेकपा (एकीकृत समाजवादी)लाई संगठित बनाएका छन् । अधिवेशन सम्पन्न गर्न र सर्वसम्मत अध्यक्ष बन्न सफलता हासिल गरेका नेपालले श्रेष्ठ, आले र झाक्रीको धम्कीलाई खासै महत्व दिएका छैनन् ।

Published : Sunday, 2024 September 8, 1:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया