मान्छे अपहरण र हत्या आरोप लागेका अग्नि सापकोटालाई तत्कालका लागि राहत
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको अपहरण तथा हत्यासम्बन्धी मुद्दामा निर्णय सुनाउने दिन फेरि सरेको छ ।
सर्वोच्च अदालतले संवैधानिक इजलासमा सापकोटाविरुद्धको मुद्दाको निर्णय सुनुवाइका लागि बुधबार पेशी तोकिएको थियो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको पूर्ण इजलासले सापकोटाविरुद्ध मुद्दाको निर्णय सुनाउने भनिए पनि अर्को दिनलाई सारेको हो ।
यसअघि साउन २३ गते पनि मुद्दाको फैसला सुनाउने दिन सारेको थियो । संवैधानिक इजालसमा सापकोटाविरुद्ध तीनवटा मुद्दा छन् ।
काभ्रेका अर्जुन लामालाई अपहरण गरी हत्या गरेको आरोप सापकोटामाथि छ । अर्जुनकी पत्नी पूर्णमाया लामा, कनकमणि दिक्षीत र सुशिल प्याकुरेलसहित ८ जनाले सापकोटाविरुद्ध मुद्दा दायर गरेका थिए ।
विक्रम संवत् २०६२ वैशाख १६ गते तत्कालीन माओवादीको अपहरणमा परेका लामाको दुई महिनापछि शव फेला परेको थियो ।
लामाकी पत्नी पूर्णमायाले आफ्ना श्रीमानको हत्यामा माओवादी नेता सापकोटा संलग्न रहेको आरोपसहित विक्रम संवत् २०६९ मंसिर ७ गते जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गरेकी थिइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया