लडाकु शिविर घाेटाला, सुन तस्कर, सहकारी ठग, उपसभामुखको मानव तस्करीबारे प्रचण्ड एक शब्द बोलेनन्
काठमाडौं । सत्ताबाट गलहत्याइएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिशोधपूर्ण अभिव्यक्तिहरू दिएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा समय लिएर बोलेका दाहालले विभिन्न प्रकरण र भ्रष्टाचारहरूका बारेमा कुरा उठाए पनि आफू र माओवादीका नेताहरू जोडिएका काण्ड, फाइल, तस्करी, सहकारीको रकम अपचलन र ठगी प्रकरणहरूबारे एक शब्द बोलेनन् ।
प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका दाहालले भने, ‘यही रोष्टमबाटै मैले यो पनि भनेको थिएँ, यो सरकार सुशासनसँग तर्सिएर बनेको हो ।’
‘सुशासनको वेगलाई रोक्न, आफूहरु र आफ्नाहरू जोगाउन र जोगिन बनेको हो’, दाहालले भने, ‘तैपनि मलाई लागेको थियो, कम्तिमा भुटानी शरणार्थी प्रकरणमा केही दिन त सरकारले यताउती अल्मल्याउला, अनुसन्धान भइरहेको भान देला, जनतासँग अलिअलि डराउला । तर, यहाँ पनि दुईतिहाइको बलियो सरकारले बल देखाउन सात दिन पनि पर्खेन ।’
उनले भने, ‘भुटानी शरणार्थी काण्डको राजनीतिक कडीमा प्रवेश गरेका प्रहरीका विशेष ब्यूरोप्रमुखको सरुवा भयो, त्यो पनि विमान दुर्घटनाले जनताको ध्यान अन्तै तानेको दिन पारेर ।’
‘हिजोको सरकारले भुटानी शरणार्थी, बाँसवारी, बालमन्दिर लगायतका थुप्रै काण्डको सफल छानविन गर्दै थियो’, दाहालले भने ।
माओवादी अध्यक्ष दाहालले भने, ‘बिजुलीको आठ अर्ब बक्यौतामा समस्या भएर रोस्टममा उभिएका प्रधानमन्त्री अब फेसबुकबाटै भए पनि बाइस अर्ब भन्न थाल्नुभएको छ ।’
‘विद्युत् प्राधिकरणको यही टेस्ट–केसले भन्छ, अब माफियाभन्दा जनता बलियो भइसकेको छ’, दाहालले भने ।
‘त्यसैले साथीहरू अब यति, ओम्नी र गिरीबन्धुका पुराना सुमधुर सम्झनाबाट ब्युँझिए हुन्छ । प्रतिपक्ष प्रतिवद्ध छ र जनता जागृत छ । अब सच्चिनु र सुध्रिनुमै सबैको भलो छ’, दाहालले भने ।
माओवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री दाहाल जोडिएको लडाकु शिविरमा भएको करोडौं रुपियाँ घोटाला, निवर्तमान अर्थमन्त्री एवम् माओवादी नेता वर्षमान पुन, पूर्वराष्ट्रपतिका छोरा र सचिवालय जोडिएको सुन तस्करी काण्डहरूबारे एकशब्द बोलेनन् ।
रास्वपाकी समानुपातिक सांसद समेत रहेकी उपसभामुख ईन्दिरा राना मगरले अमेरिकामा मानव तस्करी गरेको बारेमा पनि दाहालले एक शब्द बोलेनन् । उपसभामुख राना मानव तस्करीमा प्रमाणसहित मुछिएकी छिन् । उनकै दल रास्वपाका सभापति लामिछानेका त कुरै नगरौँ । माओवादीका धेरै नेताहरू काण्डै काण्डमा मुछिएका छन् ।
अध्यक्ष दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने मुछिएको सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डबारे पनि एक शब्द बोलेका छैनन् ।
सुन काण्डमा माओवादीका नेताहरू थनिएका छन् । कुनै नेताहरू धरौटीमा छुटेका छन् । रास्वपाका सभापति लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानविन समिति गठन भएको छ । ती विषयहरूमा दाहाल एक शब्द नबोलेर राजनीतिक प्रतिशोधका रुपमा कांग्रेस र एमालेका नेताहरूमाथि पूर्वाग्रही भएर अभिव्यक्ति दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया