रवि लामिछाने नैतिकरूपले पतित पात्र हो : मुकुल ढकाल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीबाट निश्काषन गरेपछि नेता मुकुल ढकालले कडा प्रतिक्रिया दिएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत ढकालले भने, ‘रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लवलाई छैन ।’
‘न्यायिक निकायले क्लवको कारवाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनपर्छ’, नेता ढकालले भने ।
‘नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला तर, पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला, समयले पुष्टि गर्दै जानेछ’, नेता ढकालले भने ।
‘र, अर्को कुरा, सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरी भाषणबाजी गर्दै हिँडका छन्, आफूविरूद्ध आएका प्रमाणलाई कीर्ते भन्दै जनतामा भ्रमछरी राजनीति गरिराखेका छन्’, उनले भने ।
‘यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्याउने दुस्साहस गर्दै छन् । सम्बन्धित निकायको ध्यान जाओस् । र, फेरि पनि नैतिकरूपले पतित रविलाई नैतिकता कै प्रश्न, अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस्, एउटा पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन’, नेता ढकालले भने ।
यसअघि, रास्वपाले निलम्बित महामन्त्री ढकाललाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । केन्द्रीय समितिको मंगलबारको बैठकले उनलाई हटाएको हो । पार्टीको अनुशासन आयोगले गरेको सिफारिसअनुसार ढकाललाई हटाइएको छ । ढकाललाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा दुईपटकसम्म स्पष्टीकरण सोधिएको थियो ।
ढकालले पार्टी सुदृढीकरणका लागि भन्दै बनाएको प्रतिवेदनमा पार्टी अनुशासन विपरीतका कुराहरू समेटेको, पार्टीका अहित हुने खालका गतिविधि गरेको लगायतका आरोपमा पार्टीले उनलाई यसअघि महामन्त्रीबाट निलम्बन गरेको थियो । निलम्बन गरी उनलाई स्पष्टिकरण सोधिएको थियो ।
ढकालले गरेको समीक्षा यात्राको प्रतिवेदनको स्वामित्व पनि पार्टीले लिएको थिएन । प्रतिवेदन पार्टीमा पेस गरेर छलफल चलाउनु पहिल्यै सार्वजनिक गरेको भन्दै उक्त प्रतिवेदनको स्वामित्व नलिने निर्णय रास्वपाले गरेको थियो ।
ढकालले सभापति लामिछानेलाई समीक्षा यात्रापछि तयार पारेको प्रतिवेदन बुझाएका थिए । जसमा पार्टी सञ्चालन र सभापतिको कार्यशैलीप्रति कडा आलोचनासमेत गरिएको थियो । आफ्ना कुरा भन्न नदिएको भन्दै ढकालले पार्टीको बैठकमै कालो टेप लगाएर विरोध गरेका थिए । प्रतिवेदनमा लेखिएका कुरा पार्टी नीतिविपरीत सार्वजनिक गरेको लगायतको आरोपमा ढकाललाई केन्द्रीय समितिले महामन्त्री पदबाट निलम्बन गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया