३० वर्षे अवधि हटाउन दिएको आदेशले प्रहरीमा उथलपुथल, कार्यकारीको हात बाँधेको छ : एमाले
काठमाडौं । नेकपा (एमाले)का नेता विष्णु रिजालले न्यायालयबाट आएका पछिल्ला आदेशहरूले राज्यलाई ठूलो आर्थिक भार परिरहेको भन्दै चिन्ता जनाएका छन् ।
सोमबार नेता रिजालले सामाजिक सञ्जाल एक्समार्फत् भने, ‘पछिल्ला दिनमा अदालतबाट भएका फैसला सामान्य छैनन् । कर्मचारीलाई तलब बढाउन दिएको आदेश मुलुकको अर्थतन्त्रले धान्नै सम्भव छैन ।’
‘प्रहरीमा ३० वर्षे अवधि हटाउन दिएको आदेशले प्रहरीमा उथलपुथल मात्र ल्याएको छैन, कार्यकारीको हात बाँधेको छ’, रिजालले भने ।
प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन दिएको न्यायालयको आदेशले नेपाल प्रहरीभित्र खैलाबैला भएको छ । चेनअफ कमाण्ड नै संकटमा पर्नेसम्मका चर्चा भइरहेका छन् । प्रहरीभित्र वृत्तिविकासमा समस्या हुने विज्ञहरूको भनाइ छ ।
‘त्ससैगरी, राष्ट्रिय परिचयपत्र लागू नगर्न दिइएको आदेशले सरकारको ठूलो लगानीलाई निकम्मा सावित गरेको छ’, नेता रिजालले भने ।
‘कतिपय निर्णयका विरुद्धमा सरकार भ्याकेटमा जाने पनि सुनिएको छ’, उनले भने, ‘हरेक फैसला यहि देशमा लागू हुने हुन्, न्यायाधीश पनि यही समाजका सदस्य हुन् ।’
एमालेका नेता रिजालले भने, ‘राजनीतिक नेतृत्वलाई अरु कुनै प्रकारको दवाव दिन खेल भइरहेको आशंका भइरहेको बेला सरकारलाई अप्ठेरो पर्ने गरी धमाधम निर्णयहरू आइरहेका छन् ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया