कांग्रेस र एमाले प्रतिस्पर्धी हौँ, राजनीतिक स्थिरताका लागि मिलेर सरकार बनायौँ : सभापति खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजनीतिक स्थिरताका लागि दुई ठूला दल मिलेर सरकार बनाएको बताएका छन् ।

सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा खतिवडाले भने, ‘मुलुकमा अस्थिरताले नहुँदो रहेछ । च्याखे थाप्ने पार्टीहरूलाई ल्याएर सरकारमा राख्यो । भ्यागुतोको धार्नी पुर्‍याए जस्तो गर्‍यो ।’

‘कतिखेर उफ्रिएर कहाँ पुग्छ ? थाहा छैन । यो पद्धति अन्त्यका लागि पनि ठूला पार्टीहरू मिल्नु पर्‍यो । र, देशमा राजनीतिक स्थिरताको लागि एउटा ठूलो कदम चाल्नु पर्‍यो भन्ने हृदयका साथ नेकपा (एमाले) र नेपाली कांग्रेसको अहिले गठबन्धन भएको छ’, खतिवडाले भने ।

उनले भने, ‘हामीलाई थाहा छ । भोलिको हाम्रो प्रतिस्पर्धा कांग्रेसको एमालेसँग र एमालेको कांग्रेससँग हुन्छ भन्ने कुरा केपी ओलीलाई पनि थाहा छ, शेरबहादुर देउवालाई पनि थाहा छ, मलाई पनि थाहा छ ।’

सभापति खतिवडाले भने, ‘यो गठबन्धन दुई वटा पार्टीलाई मात्र स्थायित्वका लागि अरु पार्टीलाई पनि, सबै पार्टीहरूलाई साथमा लिएर नेकपा (माओवादी केन्द्र)सँग पनि । भरखर हामीले टीआरसी विधेयक पारित गरेका छौँ ।’

‘माओवादीले पनि पूर्णरुपमा समर्थन गरेको छ । प्रचण्ड पनि साथमा हुनुहुन्छ’, उनले भनेका छन् ।

उनले भने, ‘सरकारले एक महिनामा केही गर्न नसकेपछि एउटा राम्रो के भएको छभने आर्थिक रुपमा बजारमा चलायमान भएको छ । एक महिनामा साढे चार अर्ब राजश्व संकलन भएको छ सेयर कारोबारमा । आर्थिक वातावरण सकारात्मक बन्दै गएको छ ।’

Published : Monday, 2024 August 26, 12:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया