घर हिंड्ने तयारीमा रहेका सशस्त्र प्रहरीका डीआइजीसहितका १२ जना अदालत पुगे
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका अवकासमा जान लागेका डीआइजीसहितका उच्च अधिकृतहरूले ३० वर्षे सेवा हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।
आइतबार सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक अभिकुमार खत्रीसहित १२ जनाले ३० वर्षे सेवा अवधि हटाउनुपर्ने मागसहित रिट दायर गरेका हुन् ।
डीआइजी खत्रीसहितका उच्च प्रहरीहरूको वारेसको तर्फबाट अनिता अधिकारीले रिट दिएकी छिन् ।
सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले रिटको पेशी मंगलबारका लागि तोकिएको बताएका छन् ।
डीआइजी खत्री, डीआइजी दुर्गाप्रसाद भट्टराई, एसएसपी विश्व भट्टराई, एसपीहरू पूर्णबहादुर साउद, त्रिभुवन विष्ट, अम्मरबहादुर ऐर, हर्क शाही, अशोक शाक्य, उद्धव रावल, प्रेम रावल, दीपेन्द्र गिरी र धनबहादुर सिंह भदौ १६ गतेदेखि अवकाशमा जाँदैछन् ।
सोही ब्याचका महेन्द्रराज भारती र भीम चौधरी पनि अवकाशमा जानेछन् । डीएसपी रहेका उनीहरूको अवकाशमा जाने भएकाले बढुवा भइसकेका छन् ।
बुधबार नेपाल प्रहरीका २१ जना प्रहरी अधिकृतले पनि ३० वर्षे सेवा अवधि हटाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमाथि सुनुवाई गर्दै बिहीबार न्यायाधीश हरिप्रसाद फुयालले ३० वर्षे सेवा अवधिबाट अवकाश नदिन अन्तरिम आदेश दिएको थियो ।
सर्वोच्च अदालतले नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा नपठाउन अन्तरिम आदेश जारी गरेसँगै सशस्त्र प्रहरीमा पनि मनोवल बढेपछि रिटमा सशस्त्र प्रहरीहरूका अवकासमा जान लागेकाहरू पनि मुद्दामा गएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया