यातायातमा २ वर्ष अगाडि गरेको बाचा मन्त्री राणाले पूरा गरे, चलायमान बन्यो प्यूठानमा कांग्रेस
मसुरिया । नेपाली कांग्रेस प्यूठान– २ का क्षेत्रीय सभापति समेत रहेका लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाको विशेष पहलमा स्वर्गद्वारी गौमुखी यातायात सेवा (प्रा)लि.को अध्यक्षमा चन्द्रमान श्रेष्ठ सर्वसम्मत भएका छन् ।
शनिबार प्यूठानमा भएको स्वर्गद्वारी गौमुखी यातायातको प्रथम अधिवेशनबाट कांग्रेसका श्रेष्ठ अध्यक्षमा सर्वसम्मत भएका हुन् । यसअघि, तदर्थ समितिको अध्यक्ष सुनिल बस्नेत रहेका थिए ।
नेपाल तरुण दलका केन्द्रीय सदस्य समेत रहेका सुनिल बस्नेतलाई तदर्थ समितिमा सर्वसम्मत अध्यक्ष बनाउन राणाले यातायात व्यवसायीहरूका बीच भूमिका खेलेका थिए । सोही बेला श्रेष्ठलाई प्रथम अधिवेशनबाट अध्यक्ष बनाउने बचन राणाले दिएका थिए । दुई वर्षपछि यातायातमा श्रेष्ठलाई अध्यक्ष बनाएर शहरी विकासमन्त्री राणाले आफ्नो बचन पूरा गरेको निवर्तमान अध्यक्ष बस्नेतले बताएका छन् ।
श्रेष्ठ यसअघि नेकपा (माओवादी केन्द्र)मा रहेका थिए । श्रेष्ठलाई एकहप्ता अगाडि मात्रै मन्त्री राणाले कांग्रेसमा प्रवेश गराएका हुन् । श्रेष्ठ प्यूठानमा लोकप्रिय मानिन्छन् ।
तत्कालीन समयमा यातायातलाई तहस नहस बनाउन एउटा समूह सक्रिय भएर लागेको थियो । त्यो समूहलाई राणाले राजनीतिक रुपमा पराजित गरेर नेतृत्व कांग्रेसको हातमा ल्याइदिएका थिए ।
अध्यक्षमा सर्वसम्मत भएका श्रेष्ठ यातायातको प्रबन्धक थिए । श्रेष्ठ अध्यक्ष भएपछि प्रबन्धकमा कुमार श्रेष्ठ आएका छन् ।
हुन त, प्यूठान कांग्रेसमा राणाले पछिल्लो समय हलचल ल्याइदिएका छन् । झण्डै ३० वर्षपछि प्यूठानमा कांग्रेसको तर्फबाट प्रदेश सभातर्फ राणाले प्रत्यक्षमा जितेपछि कांग्रेसको चहल पहल बढेको हाे । कांग्रेसलाई प्यूठानमा जित्नका लागि ३० वर्ष पर्खिनु परेको थियो । सभापति राणाले एमालेका निकै शक्तिशाली मानिएका हरि रिजाललाई पराजित गरेर कांग्रेसको झण्डा फहराएका थिए ।
राणाले विशेष गरेर जिल्लाका वरिष्ठ नेताहरूलाई सम्मान र युवाहरूलाई संरक्षण गर्दै आएका छन् । राणा प्रदेश सभामा निर्वाचित हुनेवित्तिकै नेपाल तरुण दलको केन्द्रीय सदस्यमा सुनिल बस्नेत र सनत श्रेष्ठलाई मनोयन गराए ।
नेपाल तरुण दल प्यूठानको अध्यक्षमा कृष्ण बस्याल ‘रोयल कृष्ण’लाई ल्याए । रोयल अध्यक्ष बनेर आउनेवित्तिकै तरुण दल सक्रिय छ ।
मन्त्री राणाले आफ्नो प्रमुख स्वकीय सचिवमा महेन्द्र केसीलाई मनोनयन गरेका छन् । केसीका दाईलाई ५० वर्ष अगाडि प्यूठानको गौमुखी गाउँपालिकाको पूजा भन्ने स्थानमा कम्युस्निटहरूले कुटपिट गरेर हत्या गरिदिएका थिए । राजनीतिक रुपमा पीडित केसी परिवारलाई राणाले अवसर आउनेवित्तिकै ठाउँ दिएका छन् ।
प्यूठान कांग्रेसमा योगदान पुर्याएका हरेक व्यक्तिको पहिचान गरेर उपयुक्त स्थानमा भूमिका दिँदै आएका छन् । राणाले कांग्रेसमा इमान्दार भएर संगठन निर्माण गर्ने जो कोहीलाई पनि अवसर दिँदै आएको प्यूठान तरुण दलका अध्यक्ष राेयलले बताएका छन् ।
कांग्रेस र माओवादी गठन्धन रहेका बेला तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको समयमा राणा उद्योग तथा यातायात मन्त्री बनेका थिए । पुनः कांग्रेस र एमालेबीच बनेको नयाँ गठबन्धनबाट बनेको लुम्बिनी सरकारमा राणा शहरी विकास तथा खानेपानी मन्त्रीमा दोहोरिएका हुन् । लुम्बिनी सरकारमा कांग्रेसबाट मन्त्रीमा दोहोरिने राणा मात्रै हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया