तनहुँ र चितवनमा भएको बस दुर्घटनाप्रति कांग्रेस स्तब्ध, गहिरो दुःख व्यक्त
काठमाडौं । नेपाली कांग्रेसले तनहुँ जिल्लामा भएको बस दुर्घटनाको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
शुक्रबार केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिलेको बैठकले बस दुर्घटनाबाट स्तब्ध भएको जनाएको छ ।
कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पोखराबाट काठमाडौंतर्फ आइरहेको यूपी ५३ एफटी ७६२३ भारतीय नम्बर प्लेटको बस तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं. २ ऐनापहरा भन्ने स्थानबाट मस्र्याङ्दी नदीमा शुक्रबार खस्दा ४३ जना यात्रुमध्ये २७ जनाको मृत्यु र १६ जना गम्भीर घाइते भएको यो संवेदनशील घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ । कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ ।’
रौतहटबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ४७ नम्बरको बस मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिकाको वडा नं. २९ सत्रकिलोमा माथिबाट खसेको ढुङ्गाका कारणले बस अनियन्त्रित भई पल्टिदा २५ जना घाइते भएको घटनाप्रति पनि कांग्रेस गहिरो दुःख व्यक्त गरेको छ ।
दुबै घटनाका घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।
तनहुँ दुर्घटनामा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कांग्रेसले उनीहरूको आत्माको चीर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
कांग्रेसले दुबै घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको विज्ञप्तिमा उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया