अमेरिकामा नेपाली मूलकी नर्स बेपत्ता, नरेश घरबाट पक्राउ

न्युयोर्क । अमेरिकामा नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएपछि स्थानीय प्रहरीले उनका पति नरेश भट्टलाई पक्राउ गरेको छ ।
बिहीबार भर्जिनिया प्रहरीले मनासस पार्कस्थित घरबाटै प्रहरीले नरेशलाई पक्राउ गरेको सेभेन न्युजले जनाएको छ ।

ममता ३ हप्तादेखि बेपत्ता छिन् । उनी फेला नपरेपछि अनुसन्धानका लागि प्रहरीले नरेशलाई पक्राउ गरेको जनाइएको छ ।

स्थानीय प्रहरीले ममताको मृत्यु भइसकेको हुन सक्ने अनुमान गरेको छ । ममताको शव नरेशले लुकाएको हुनसक्ने आशंकापछि पक्राउ गरेको मनासस पार्कका प्रहरी प्रमुख मारिओ ल्युगोले जनाएका छन् ।

प्रहरीले बुधबार मनासस पार्कस्थित नरेश र ममताको घरमा छापामारेको छ । छापामार्ने क्रममा नरेशले सहयोग नगरेको प्रहरी प्रमुख ल्युगोले बताएका छन् ।

ममता आफू काम गर्ने भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा अन्तिमपटक जुलाई २७ मा देखिएकी थिइन् । ममता जुलाई २८ सम्म साथीहरूसँग सम्पर्कमै रहेको भनिएको छ । अगस्ट २ मा प्रहरी नरेश र ममता बस्ने मनासस पार्कस्थित घरमा पुगेका थिए । त्यतिबेला घरमा नरेश र उनीहरूका १ वर्षका छोरी मात्रै थिए ।

ममताकी १ वर्षीया छोरीलाई भने प्रहरीले सामाजिक संस्थाको जिम्मा लगाएको छ । उनी सुरक्षित र स्वस्थ रहेको पनि प्रहरीले बताएको छ ।

महेन्द्रनगरको कञ्चनपुर स्थायी घर भएका भट्टले सन् २०२० मा मात्र विवाह गरेका थिए । दुईबीच पछिल्लो समय सुमधुर सम्बन्ध थिएन । काफ्लेले सम्बन्ध विच्छेद गर्न विभिन्न व्यक्तिहरूसँग परामर्श गरेको समेत खुलेको छ ।

Published : Friday, 2024 August 23, 10:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया