सहकारी ठगका आरोपीहरूसँग सिंहदरबारमा बयान
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले कुमारी सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालकसँग सोधपुछ गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको बैठकमा सहकारीका सञ्चालक सूर्यध्वज न्यौपानेसँग सोधपुछ गरेको समितिका संयोजक सूर्यबहादुर थापाले बताए ।
काठमाडौंको चावहिलस्थित मित्रपार्कमा अवस्थित कुमारी सहकारी यसअघि समस्याग्रस्त घोषणा गरिएको थियो ।
समितिले सोसाइटल बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक रामचन्द्र शर्मासँग पनि बयान लिएको छ ।
जेठ १५ गते गठन भएको समितिलाई सहकारीमा जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानून बमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने कार्यादेश रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने सहकारीको करोडौं रकम अपचलन र ठगीमा मुछिएपछि छानविन गर्न संसदीय समिति गठन भएको थियो ।
समितिले लामिछानेसँग पनि बयान लिनेछ । उपयुक्त समयमा लामिछानेसँग बयान लिइन् समितिका संयोजक थापाले बताउने गरेका छन् ।
गोर्खा मिडिया नेटवर्क प्रालिको तत्कालीन समयमा प्रबन्ध निर्देशक रहेका बेला लामिछानेले सूर्यदर्शन लगायतका सहकारीको झण्डै १ अर्ब रुपियाँ अपचलन र ठगी गरेको अभियोग छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया