शहरी विकासमन्त्री रोज राणाद्वारा प्यूठानका माओवादी नेता श्रेष्ठलाई कांग्रेसमा स्वागत
मसुरिया । नेपाली कांग्रेस प्यूठान क्षेत्र नं. २ का सभापति समेत रहेका लम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले नेकपा (माओवादी केन्द्र)का नेता चन्द्रमान श्रेष्ठलाई पार्टीमा भित्र्याएका छन् ।
बुधबार देउखुरीको मसुरियामा आयोजित विशेष कार्यक्रममा मन्त्री राणाले माओवादी नेता श्रेष्ठलाई कांग्रेसको सदस्यता प्रदान गरेको नेपाल तरुण दल प्यूठानका जिल्ला अध्यक्ष कृष्ण बस्याल ‘रोयल कृष्ण’ले बताए ।
क्षेत्रीय सभापति एवम् शहरी विकास तथा खानेपानीमन्त्री राणाले पार्टीमा इमान्दार भएर संगठन निर्माणको काममा लाग्न निर्देशन दिएका छन् । उनले कांग्रेसमा इमान्दार भएर काम गर्ने सबैको मूयाङ्कन गरेर उचित जिम्मेवारी दिइने बताएका छन् ।
श्रेष्ठ प्यूठान नगरपालिका निवासी हुन् । उनी स्थानीय तहको निर्वाचनमा माओवादीबाट वडाध्यक्षको प्रत्यासी समेत बनेका थिए ।
यातायात व्यवसायी समेत रहेका श्रेष्ठसँगै ऐरावती गाउँपालिका निवासी लालबहादुर जिसी पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया