कांग्रेसले विधिको पक्षमा माओवादीका लागि आवाज उठायो, दलको नेतालाई ५ मिनट दिएपछि असन्तुष्ट
मसुरिया । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेश सभाको मंगलबार बसेको बैठकमा सभामुखको कुर्सीबाट प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता एवम् निवर्तमान मुख्यमन्त्री जोखबहादुर महरालाई ५ मिनटको समय दिएपछि असन्तुष्टि जनाएका छन् ।
सभामुखको कुर्सीबाट प्रमुख प्रतिपक्ष दलको नेतालाई ५ मिनट तोकिएपछि कांग्रेस नेता चौधरीले आपत्ति जनाएका हुन् । सदनमा प्रमुख प्रतिपक्ष दलको नेता र सत्तापक्षको नेताले बोल्न चाहेमा जहिले पनि जुन सुकै बेला समयमा रोकतोक नगरी समय दिने परम्परा छ । लुम्बिनी प्रदेशको सभामुख माओवादी केन्द्रबाटै छन् ।
लुम्बिनी प्रदेश सभाको बैठकमा मंगलबार सभामुखको कुर्सीबाट ५ मिनट तोकिएपछि सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलका नेता चौधरीले विरोध जनाएका हुन् ।
नेता चौधरीले भने, ‘प्रतिपक्ष दलका नेताको समय हुँदैन । नियम र कानूनभन्दा बाहिर गएर हामीले संसद चलाउनु पनि हुँदैन । त्यतातिर संसदको ध्यानाकर्षण गराउन पनि चाहन्छु ।’
‘आगामी दिनमा प्रतिपक्ष दलको नेतालाई पर्याप्त समय मात्रै होइन उहाँले जति बोल्नु हुन्छ त्यहि समय उपलब्ध होस् ।’
बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का नेता महराले पनि ५ मिनटमा के बोल्ने हो भनेर प्रश्न राखेका थिए । महराले संसद भनेको प्रमुख प्रतिपक्षको हुने भन्दै समय तोकेर दिएकोमा असन्तुष्टि जनाएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया