भारतीय प्रधानमन्त्री मोदी र परराष्ट्रमन्त्री डा.राणाबीच भेट, नेपाल भ्रमणको निम्तो हस्तान्तरण
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शिष्टाचार भेट गरेकी छिन् ।
सोमबार साँझ नयाँ दिल्लीको सात लोककल्याणमार्गस्थित प्रधानमन्त्रीनिवासमा डा.राणाले मोदीलाई भेट गरेकी हुन् । उनीहरूबीच करीव आधा घण्टा कुराकानी भएको छ ।
परराष्ट्रमन्त्री डा.राणा र भारतीय प्रधानमन्त्री मोदीबीच नेपाल–भारत सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको छ ।
‘नेपालका परराष्ट्रमन्त्रीलाई स्वागत गर्न पाउँदा खुसी छु’, भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नेपाल र भारतले बहुआयामिक तथा प्रगतिशील साझेदारी तथा निकट सभ्यताको सम्बन्ध साझा गर्दछन् ।’
मोदीले भनेका छन्, ‘हाम्रो विकास साझेदारीमा निरन्तर गतिको प्रतीक्षामा छु ।’
भेटवार्तामा सहभागी नेपाली कार्यवाहक राजदूत डा.सुरेन्द्र थापाले परराष्ट्रमन्त्री डा.राणा र भारतीय प्रधानमन्त्री मोदीबीच नेपाल–भारत सम्बन्ध सुदृढका बहुआयामिक विषयमा कुराकानी भएको बताए ।
मोदीसँगको भेटपटि परराष्ट्रमन्त्री डा.राणाले सामाजिक सञ्जाल एक्समा लेखेकी छिन्, ‘नेपाल–भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भयो । मैले प्रधानमन्त्री मोदीको राजकीय भ्रमणका लागि प्रधानमन्त्री ओलीको निमन्त्रणा हस्तान्तरण गरेकी छु ।’
परराष्ट्रमन्त्री डा.राणाले भारतीय प्रधानमन्त्री मोदीलाई नेपालको राजकीय भ्रमण गर्न प्रधानमन्त्री केपी ओलीले पठाएको निमन्त्रणापत्र हस्तान्तरण गरेकी छिन् ।
नयाँ दिल्लीस्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री डा.राणाले भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री ओलीका तर्फबाट शुभकामनासमेत सुनाएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणासँग मोदीले नेपाल भ्रमणको निमन्त्रणाप्रति धन्यवाद व्यक्त गरेका छन् । मोदीले चाँडै नै नेपाल भ्रमणमा आउने इच्छा जनाएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा परराष्ट्रमन्त्री डा.राणा, कार्यवाहक राजदूत थापा, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया डिभिजन प्रमुख भृगु ढुङ्गाना र नेपाली राजदूतावासकी मिनिस्टर काउन्सिलर दुरपदा सापकोटा सहभागी थिए ।
भारतीय प्रधानमन्त्री मोदीसँग विदेशमन्त्री डा. एस जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशसचिव विक्रम मिश्री र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायत सहभागी थिए ।
यसअघि, परराष्ट्रमन्त्री डा.राणा र भारतीय विदेशमन्त्री डा.एस.जयशङ्करबीच व्यापार तथा पारवहन, ऊर्जा, कनेक्टिभिटी, लगानी, एयर रुट, बाढी तथा डुबान, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, खेलकुद, सीमा पूर्वाधारलगायतका विषयमा छलफल भएको नेपाली दूतावासले जनाएको छ ।
नियमित द्विपक्षीय संयन्त्रहरूमार्फत दुई पक्षबीच निरन्तर संवाद हुनुपर्नेमा दुवै परराष्ट्रमन्त्री सहमत भएका छन् ।
भारतीय विदेश मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार परराष्ट्रमन्त्रीहरूको वार्तामा द्विपक्षीय साझेदारीका व्यापक पक्षबारे छलफल भएको थियो । ‘उहाँहरूले विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरूमा भएको प्रगतिको समीक्षा गर्नुका साथै पारस्परिक लाभदायी सहकार्यका विद्यमान र नयाँ क्षेत्रमा थप सहयोगका अवसरहरूबारे पनि छलफल गर्नुभयो,’ विदेश मन्त्रालयले भनेको छ ।
पूर्वाधार, अन्तरदेशीय रेलमार्ग, सडक र पुलसँग सम्बन्धित अन्य परियोजना, एकीकृत जाँच चौकी, पेट्रोलियम पाइपलाइन र डिजिटल वित्तीय कनेक्टिभिटीलगायत डिजिटल कनेक्टिभिटीका क्षेत्रबारेमा छलफल भएको छ ।
नेपालले अब करिब १००० मेगावाट विद्युत् निर्यात गर्न सक्ने र यसले नेपालका लागि आम्दानी र भारतका लागि स्वच्छ ऊर्जाका थप स्रोतहरूको सिर्जना गर्ने विषयमा छलफल भएको छ । सोमबारै भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत् खरिदका लागि स्वीकृति दिएको छ ।
भेटपछि विदेशमन्त्री जयशङ्करले ऊर्जा, व्यापार, कनेक्टिभिटी, पूर्वाधार विकासलगायत बहुआयामिक सहकार्यबारे छलफल भएको बताएका छन् । ‘नेपालले भारतलाई करिब एक हजार मेगावाट विद्युत् निर्यात गर्ने भएकोमा खुसी लागेको छ । दुई देशको सम्बन्धमा यो एउटा नयाँ कोसेढुंगा हो,’ जयशंकरले एक्समा लेखेका छन् ।
नेपाली क्रिकेट टोलीका लागि हालै भारतको बेंग्लोरस्थित नेसनल क्रिकेट एकेडेमीमा व्यवस्था गरिएको प्रशिक्षण कार्यक्रमको परराष्ट्रमन्त्री डा.राणाले सराहना गरेकी छिन् ।
भारतीय समकक्षी डा. एस जयशङ्करको निमन्त्रणामा आइतबारदेखि भारतको औपचारिक भ्रमणमा परराष्ट्रमन्त्री डा.राणा रहेकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया