बझाङ र जाजरकोटमा पहिरोमा पुरिएर ७ जनाको मृत्यु

काठमाडौं । बझाङ र जाजरकोट जिल्लामा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ ।

बझाङको बुंगल नगरपालिका–१० टुमेडा बस्ने ६२ वर्षीय बीरबहादुर धामीको घर आइतबार राति अविरल वर्षाका कारण पहिरोले पुरिँदा ४ जनाको मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पहिरोमा पुरिएर सोही ठाउँ बस्ने ५५ वर्षीया काली धामी, २५ वर्षीया गोल्की धामी, ६ वर्षीया आकृती धामी र ३ वर्षीया लक्ष्मी धामीको मृत्यु भएको छ ।

पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पुतलीलेक र इलाका प्रहरी कार्यालय बुंगलबाट खटिएको प्रहरीले बेपत्ता भएकाहरूको खोजी तथा उद्दारको गर्ने क्रममा चारै जनाको शव फेला परेको हो ।

घरभित्र सुतिरहेका बीरबहादुर समेत ६ जना सामान्य घाइते भएका छन् ।

यता, जाजरकोटको नलगाड नगरपालिका–२ डाँडागाउँ बस्ने लालबहादुर परियारको अस्थाई टहरो सोमबार बिहान पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको छ ।

पहिरोले पुरिएर लालबहादुर, उनकी श्रीमती ३५ वर्षीया मनीषा बिक र छोरा शुभम परियारको मृत्यु भएको छ ।

टहरो पहिरोले पुरिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरीले उद्दार गर्ने क्रममा उनीहरूको शव फेला परेको हो ।

Published : Monday, 2024 August 19, 5:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया