परराष्ट्रमन्त्री डा.राणालाई दिल्लीमा भव्य स्वागत, सोमबार उच्चस्तरीय भेटवार्ता
काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई नयाँ दिल्लीमा भव्य स्वागत भएको छ ।
आइतबार ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवहाक राजदूत सुरेन्द्र थापा र भारतीय विदेशमन्त्रायका उत्तरी महाशाखा प्रमुख अनुराग श्रीवास्तवले स्वागत गरेका हुन् ।
डा.राणा भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा निस्केकी हुन् । परराष्ट्रमन्त्री नियुक्त भएपछि डा.राणाको यो पहिलो विदेश भ्रमण हो ।
मन्त्री डा.राणाले सोमबार दिउँसो भारतीय समकक्षी विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
भेटवार्तामा दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ ।
परराष्ट्रमन्त्री डा.राणाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रमको गृहकार्य भएको छ । स्रोतका अनुसार परराष्ट्रमन्त्री डा.राणाले सोमबार बेलुका भारतीय प्रधानमन्त्री मोदीलाई भेट्ने तयारी भएको बुझिएको छ ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासले भेटवार्ताको लागि भारतीय विदेश मन्त्रालयसँग मिलेर प्रधानमन्त्री कार्यालयसँग कुराकानी गरिरहेको छ ।
परराष्ट्रमन्त्री डा.राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साललगायतका परराष्ट्रका वरिष्ठ अधिकारीहरूले बिदाइ गरेका थिए ।
मन्त्री राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी छन् ।
मन्त्री डा.राणाको यो भ्रमण नेपाल भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्पराअनुसार भएको परराष्ट्र मन्त्रायले जनाएको छ ।
भारतको औपचारिक भ्रमणमा नयाँ दिल्ली पुगेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार बेलुकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने भएकी छन् ।
यसैबीच, परराष्ट्रमन्त्री डा.राणाको सम्मानमा कार्यवाहक राजदूत थापाले आइतबार बेलुकी नेपाली दूतावास बाह्रखम्बामा रात्रिभोज आयोजना गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया