सहकारी ठगका आरोपी रास्वपाका सह-महामन्त्रीसँग बयान, आउन लाग्यो रवि लामिछानेको पालो
काठमाडौं । सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन तथा ठगी गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सह–महामन्त्री विपिनकुमार आचार्यसँग संसदीय छानविन समितिले बयान लिएको छ ।
सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले आइतबार सिंहदरबारमा रास्वपाका सह–महामन्त्री आचार्यसँग बयान लिएको हो ।
आचार्यको नाम सुप्रिम बचत तथा ऋण सहकारी रकम अपचलनमा जोडिएको छ । सहकारीबाट २०७८ पुस १२ गते आचार्यको नाममा १ करोड ५६ लाख १५ हजार ऋण स्वीकृत भएको छ । उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा गरेको आरोप छ । आचार्य गोर्खा मिडियामा क्रिएटिभ डाइरेक्टरका रूपमा समेत काम गरेका थिए ।
गितेन्द्रबाबु (जीबी) राई नेतृत्वमा खुलेको सहकारीबाट बचतकर्ताको रकम अपचलनमा रास्वपा सभापति लामिछाने मात्र होइनन् पार्टीका सह–महामन्त्री आचार्य पनि जोडिएका छन् ।
०७८ पुस ६ मा सूर्यदर्शन सहकारीबाट १ करोड र पुस १२ मा सुप्रिम सहकारीबाट १ करोड ५६ लाख १५ हजार गरी कुल २ करोड ५६ लाख १५ हजार रुपियाँ आचार्यको तर्फबाट गोर्खा मिडियामा गएको कागजातहरूबाट खुलेको छ । आचार्यले सहकारीको रकम गोर्खा मिडियामा ल्याएका मात्र होइनन्, गोर्खा मिडियाबाट आफ्नो कम्पनीमा पनि सारेका छन् ।
आचार्यकी श्रीमती सुरक्षा अधिकारीको नाममा स्थापना भएको ‘नोबडी प्रोडक्सन प्रालि’ को खातामा गोर्खा मिडियाबाट ५ करोड ३५ लाख रुपियाँ रकम ट्रान्सफर भएको छ । गोर्खा मिडिया नेटवर्कको क्रियटिभ डाइरेक्टर रहेका आचार्यले टेलिभिजनबाट कार्यक्रम भने आफ्नो निजी कम्पनीबाट उत्पादन गरी टेलिभिजनलाई बेच्ने गर्दथे ।
ग्यालेक्सी टेलिभिजनमf ‘सारेगम लिटिल च्याम्प्स नेपाल’ प्रशारण थियो । यो कार्यक्रम ग्यालेक्सीबाट ३७ भाग प्रसारण भएको थियो । जसको भुक्तानी भने सुप्रिमका बचतकर्ताको रकमबाट नोबडी प्रडक्सनलाई गरिएको देखिन्छ ।
सह–महामन्त्री आचार्यले दिएको बयानलाई सम्बन्धित व्यक्तिको हस्ताक्षरसहित रेकर्डमा राखिएको समितिले जनाएको छ ।
संसदीय समितिले सरोकारवाला निकायसँगै सहकारी ठगीमा मुछिएकालाई कारागारबाट झिकाएर बयान लिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने सहकारीको करोडौं रुपियाँ अपचलन र हिनामिना काण्डमा मुछिएका छन् ।
लामिछाने ठगी काण्डमा मुछिएपछि एमालेका सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा संसदीय छानविन समिति गठन भएको थियो ।
समितिले लामिछानेसँग बयान लिएको छैन । केही दिनपछि समितिले रास्वपाका सभापति लामिछानेसँग पनि बयान लिने तयारी गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया