लुम्बिनीका शहरी विकास तथा खानेपानीमन्त्री राणाद्वारा सचिवालय विस्तार

मसुरिया । लुम्बिनी प्रदेशका शहरी तथा खानेपानी विकासमन्त्री रोज राणाले सचिवालय विस्तार गरेका छन् ।

आइतबार देउखुरीको मसुरियास्थित मन्त्रालयमा मन्त्री राणाले महेन्द्र केसीलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका हुन् । मन्त्री राणाले केसीलाई मन्त्रालयको कार्यसम्पादनमा आफूलाई सहयोग गर्न निर्देशन दिएका छन् ।

प्रमुख स्वकीय सचिवमा नियुक्त भएका केसी प्यूठान कांग्रेसका नेता हुन् । पछिल्लो समय उनी दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुबाङ बजारमा बस्दै आएका छन् ।

केसीको परिवार प्यूठानमा कम्युनिस्टबाट निकै अन्यायमा परेको थियो । प्रमुख स्वकीय सचिवमा नियुक्त भएका केसीका दाई शम्शेर केसीलाई ०४६/४७ सालतिर प्यूठानको (हाल) गौमुखी गाउँपालिकाको पूजा भन्ने स्थानमा कुटपिट गर्नुकासाथै भिरबाट फालेर हत्या गरिदिएका थिए । पूजाको त्यो घटना प्यूठान जिल्लामा पहिलो ठूलो घटनाका रुपमा चिनिन्छ ।

मन्त्री राणाले राजनीतिक रुपमा निकै संघर्ष गरेको परिवारका सदस्यलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरेको नेपाल तरुण दल प्यूठानका अध्यक्ष रोयल कृष्णले उल्लेख गरेका छन् । रोयललले भनेका छन्, ‘एउटा असल नेतृत्व ठाउँमा पुग्दा कार्यकर्ताको क्षमता हेरेर कसरी गर्छ भन्ने उदाहरण यहि हो ।’

मन्त्री राणाले सचिवालयमा रहेन अन्य नियुक्तिहरू पनि छिटै गर्ने तयारी गरेका छन् ।

Published : Sunday, 2024 August 18, 5:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया