गृहमन्त्री, आईजीपी र भारतीय राजदूतद्वारा पनौतीमा निर्माणाधीन प्रहरीको संरचनाहरूको अनुगमन

पनौती । गृहमन्त्री रमेश लेखकले काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भवन एवम् संरचनाहरू समयमै गुणस्तरका साथ सम्पन्न गर्न निर्माणमा संलग्न सबै सरोकारवाला निकायहरू क्रियाशील हुनुपर्ने बताएका छन् ।

भारत सरकारको अनुदान सहयोगमा काभ्रेको पनौती नगरपालिका–६ दलिन्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणाधीन भवन तथा संरचनाहरूको शुक्रबार अनुमगन तथा निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लेखकले भौतिक संरचना निर्माणको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

उनले यस परियोजना महत्वपूर्ण भएको चर्चा गर्दै निर्माण कार्यमा देखिएका समस्या समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए । गृहमन्त्री लेखकले निर्माणाधीन प्रतिष्ठान परिसरमा वृक्षारोपण समेत गरेका छन् ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले निर्माण कार्यलाई समयमै सम्पन्न गराउने लक्ष्यका साथ काम भइरहेको बताएका छन् ।

निर्माणको क्रममा देखा परेका विविध समस्याहरूलाई सम्बोधन गर्न नेपाल सरकार, स्थानीय तह लगायत अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्दै आइरहेको राजदूत श्रीवास्तवले उल्लेख गरेका छन् ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, भारतीय राजदूतावास नेपालका प्रथम सचिव अविनाशकुमार सिंह, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी, प्रहरी नायव महानिरीक्षकहरू, पनौती नगरपालिकाका प्रमुख लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले समेत अनुगमन तथा निरीक्षण गरेका थिए ।

नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक ई. रामकुमार चौधरीले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रम सम्बन्धी संक्षिप्त जानकारी दिएका थिए ।

Published : Friday, 2024 August 16, 11:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया