काठमाडौंमा भारतको ७८औं स्वतन्त्रता दिवसको अवसरमा विशेष कार्यक्रम

काठमाडौं । नेपालका लागि भारतीय दूतावास लैनचौरले भारतको ७८औं स्वतन्त्रता दिवसको अवसरमा विशेष कार्यक्रम गरेको छ ।

बिहीबार दूतावासमा आयोजित कार्यक्रममा राजदूत नवीन श्रीवास्तवले झण्डोत्तोलन गरेका छन् ।

कार्यक्रममा भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।

राष्ट्रपतिको सन्देशमा विगत ७७ वर्षमा विभिन्न क्षेत्रमा भएको प्रगतिको चर्चा गरिएको थियो ।

भारतको स्वतन्त्रताका लागि जीवन बलिदान दिने स्वतन्त्रता सेनानीहरूलाई श्रद्धाञ्जलि अर्पण पनि गरिएको थियो ।

राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती एवं निकटतम नातेदारलाई ५ करोड ५० लाख रुपियाँ र कम्बल प्रदान गरेका थिए ।

भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमती एवं निकटतम नातेदारका लागि १२ करोड ५५ लाख रुपियाँ भुक्तानी पनि दिइएको छ ।

भुक्तानीमा आर्मी ग्रुप इन्स्योरेन्स (एजीआई) कार्यक्रमअन्तर्गत सन् २०२४ का लागि डेथ–इन–सर्भिस, एक्सटेन्डेड इन्स्योरेन्स र एजीआई परिपक्वता भुक्तानीलगायत समावेश छन् ।

स्वतन्त्रता दिवसका अवसरमा दूतावासले नेपालका पाँच प्रदेशका २१ शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गरेको छ ।

अनुदानले दुर्गम क्षेत्रका विद्यार्थीको शैक्षिक सामग्रीमा पहुँच बढाउने लक्ष्य राखे भारतीय राजदूतावासले जनाएको छ ।

Published : Friday, 2024 August 16, 9:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया