सर्वोच्चद्वारा ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्रीका लागि कानून बनाउन निर्देशनात्मक आदेश

काठमाडौं । सर्वोच्च अदालतले ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका लागि आवश्यक कानून बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश गरेको छ ।

बुधबार सर्वोच्चका न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र अब्दुल अजीज मुलसमानको संयुक्त इजलासले २०८१ वैशाख १७ गते गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । पूर्र्णपाठमा कानून बनाउन नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको उल्लेख छ ।

‘हालसम्म क्रसर उद्योग सञ्चालन तथा व्यवस्थापन गर्नका निम्ति कुनै कानूनी व्यवस्था भएको नदेखिँदा ढुङ्गा, गिटी, बालुवा उत्खननगरी कसर उद्योग सुव्यवस्थित रूपमा र वातावरणमैत्री रूपमा सञ्चालन हुने सुनिश्चितताको लागि ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका लागि आवश्यक कानून बनाउनु भनी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, काठमाडौंका नाममा निर्देशनात्मक आदेश जारी गरिदिएको छ’, पूर्णपाठको आदेशमा भनिएको छ ।

अदालतले तथ्य, कानूनी व्यवस्था र यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको आधारमा ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ लाई संशोधन गर्नेगरी नेपाल सरकार, मन्त्रिपरिषदबाट मिति २०७९ जेठ ६ मा पारित ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी (पहिलो संशोधन) मापदण्ड, २०७९ उक्त मापदण्डको दफा ४(१.०) र दफा ११(१) को हदसम्म उत्प्रेषणको आदेशले बदर गरेको छ ।

अदालतले ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७९ लाई बदरगरी २०७७ लाई कायम गरेको छ ।

ऐनमा क्रसर उद्योग सञ्चालन गर्दा दूरीसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने व्यवस्था गरेको छ । जसमा क्रसर उद्योग सञ्चालन गर्दा राजमार्गको राइट अफ वेबाट ५०० मिटर दूरी, खोला वा नदी किनारबाट ५०० मिटर, शिक्षण संस्था, स्वास्थ्य, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकायबाट दुई किमी दूरी कायम गरिएको छ ।

पक्की पुलबाट ५०० मिटर, अन्तर्राष्ट्रिय सीमाबाट दुई किमी, वन, निकुञ्ज तथा आरक्षबाट दुई किमी, घनाबस्तीबाट दुई किमी, हाइटेन्सन लाइनबाट २०० मिटर, ऐतिहासिक तालतलैया, जलाशय र पोखरीबाट ५०० मिटर र चुरे पहाडको फेदीबाट एक हजार ५०० मिटर दूरी कायम गरिएको छ ।

Published : Wednesday, 2024 August 14, 10:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया