माओवादीसँग गठबन्धन गर्दा एमालेसँग कुरा, एमालेसँग गठबन्धन गर्दा माओवादीसँग कुरा गर्न पुग्छन् : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले एमालेसँग गठबन्धन हुँदा माओवादीसँग, माओवादीसँग गठबन्धन हुँदा एमालेसँग कुरा गर्ने कार्य गलत भएको बताएका छन् ।

सोमबार वीपीनगर, ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै खतिवडाले जुन दलसँग गठबन्धन भएको छ त्यही दलसँगको गठबन्धनलाई बलियो बनाउनुपर्ने बताए ।

उनले भने, ‘कांग्रेसभित्र कस्तो चलन भयो भने ? हामी जब माओवादीसँग गठबन्धन गर्छौं साथीहरू एमालेसँग कुरा गर्न पुग्छन् । जब एमालेसँग गठबन्धन गर्छौं तब माओवादीसँग कुरा गर्न पुग्छन् । यो के हो ? मैले बुझेको छैन । यसबारे स्पष्ट धारणा आओस् ।’

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइरालाले एमालेसँगको अहिलेको गठबन्धनलाई असर पर्ने गरेर अभिव्यक्ति दिइरहेका बेला खतिवडाले नेताहरूलाई जिम्मेवार बन्न सुझाव दिएका छन् ।

राज्य व्यवस्था समितिका सभापति समेत रहेका कांग्रेसका नेता खतिवडाले ०६२/६३ को आन्दोलनपछि सबैभन्दा धेरै सत्तामा माओवादी र एमाले बसेको बताए ।

उनले भने, ‘अहिलेसम्म सरकारमा २०६२/६३ देखि सबैभन्दा धेरै माओवादी बसेको छ । कम्युनिस्टहरू सरकारमा बसेका छन् । ७२ प्रतिशत कम्युनिस्ट बसे । हामी २८ प्रतिशत मात्रै छौँ । यसको मूल्याङ्कन गर्नु पर्ने बेला होला ।’

कांग्रेसको विधान संशोधनको कुरा उठेकोमा खतिवडाले कमिटी बनाएर सबैको राय सुझाव लिएर विधान संशोधन गर्नुपर्ने बताए । उनले कसैलाई लहड लाग्यो भन्दैमा बोलेकै भरमा कांग्रेसको विधान संशोधन नहुने बताए ।

उनले भने, ‘विधान संशोधनका कुरा पनि आएका छन् । विधान संशोधन भनेको अहिले एउटा कमिटी गठन गरौँ । के के गर्ने हो कमिटीले गर्छ । अरु हामीले गर्ने होइन ।’

उनले भने, ‘गठबन्धन पनि अब आउने कार्यसमितिले गर्छ । सभापति फरक आउला । अरु पनि फरक आउलान् ।’

नेता खतिवडाले भने, ‘हाम्रो पार्टीमा काम गर्नेभन्दा कान भर्नेको संख्या बढि भयो । परिश्रमीभन्दा परिक्रमीले ठाउँ पाए ।’

उनले भने, ‘समानुपातिकमा सबैलाई व्यवस्थापन गर्नुपर्छ । प्रत्यक्ष निर्वाचितको एउटा गरौँ प्रतिनिधि सभामा राखौँ । राष्ट्रिय सभालाई पूर्ण समावेशी र समानुपातिक बनाऔँ ।’

‘कांग्रेसमा एकले अर्कालाई गाली गर्छन् । त्यसलाई अन्त्य गरौँ । पार्टीलाई कमजोर बनाउने काम कसैले नगरौँ’, नेता खतिवडाले भने ।

‘गठबन्धन अर्को कार्यसमितिले गर्छ । अहिले गर्ने बेला भएको छैन । पब्लिक खपतका लागि बोल्ने कुरा खराब हो’, खतिवडाले भनेका छन् ।

महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री दुई पटक भन्दा धेरै हुन नपाउने तथा सांसद ४ पटकसम्म हुनुपर्ने भनेर ल्याएको अवधारणाको नेता खतिवडाले विरोध गरेका छन् ।

कांग्रेस नेता खतिवडाले भने, ‘१, २, ३, ४ भनेर जुन कुरा आयो नी हाम्रो महामन्त्री कुरा संसद र पार्टीको विधानमा उल्लेख गर्नु हुँदैन ।’

Published : Monday, 2024 August 12, 9:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया