लेखक र मिस्रीबीच भेट, नेपालको भूमि छिमेकी राष्ट्रहरूविरुद्ध प्रयोग हुन नदिने

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले भेटवार्ता गरेका छन् ।

सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

लेखकले नेपाल र भारतबीच सौहार्दपूर्ण सम्बन्ध रहिआएको बताएका छन् । भारतीय विदेशसचिव मिश्रीको कार्यकालमा यो सम्बन्ध थप विस्तार र सुदृढ हुनेमा आफू विश्वस्त रहेको गृहमन्त्री लेखकले बताएका छन् ।

लेखकले भारत नेपालको सुरक्षा, पूर्वाधार, ऊर्जा, जलस्रोतलगायतका क्षेत्रमा महत्वपूर्ण विकास साझेदार रहेको बताएका छन् । उनले भारतले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धिसहित नेपालको पूर्वाधार निर्माणमा पु¥याएको सहयोगका लागि विदेशसचिव मिश्रीलाई धन्यवाद दिएका छन् ।

गृहमन्त्री लेखकले नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले नेपालमा भारत सरकारबाट भएको लगानीको पूर्ण सुरक्षा प्रत्याभूति हुने जनाउँदै सीमाक्षेत्रमा देखिने गरेको अपराध र लागुऔषध अवैध कारोबार नियन्त्रणका लागि आपसी समन्वय र सहकार्य बढाउनुपर्ने विषयमा विशेष कुराकानी भएको छ ।

भारतीय विदेशसचिव मिस्रीले सीमा व्यवस्थापन, सीमापार हुने अपराध तथा दुवै मुलुकका नागरिकको सुरक्षाका लागि नेपाल सरकारसँग समन्वय गर्ने र आफ्नोतर्फबाट समेत सहयोग हुने बताएका छन् । उनले नेपालको सुरक्षा निकाय र अध्यागमन प्रशासनलाई सुदृढ बनाउन भारत सरकारका तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Published : Monday, 2024 August 12, 4:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया