रवि लामिछाने र जीवी राई ठगीमा संलग्न सहकारीका पीडितहरू आन्दोलित

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका तत्कालीन गृहमन्त्री रवि लामिछाने संलग्न बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता फेरि आन्दोलनमा उत्रिएका छन् ।

आइतबार देउखुरीमा सुप्रिम सहकारीका झण्डै ५ सय बचतकर्ताले दोषीमाथि कारवाही र बचत फिर्ताको माग गर्दै आन्दोलन गरेका हुन् । उनीहरूले राज्यले अहिलेसम्म प्रभावकारी सुनुवाई नगरेको बताएका छन् ।

पीडित बचतकर्ताले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा ज्ञापनपत्र बुझाउनुका साथै ती मन्त्रालय र कार्यालय अगाडी घेराउ तथा नाराबाजी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सहकारीका १ हजार ८ सय ३१ जनाले आफूहरूको ८६ करोड १८ लाख २३ हजार अपचलन गरेको भन्दै जाहेरी दिएका छन् ।

सुप्रिम सहकारीमा बचत भएको १ अर्ब २ करोड १४ लाख २ सय ५३ रुपियाँ मध्ये झण्डै ९० करोड अपचलन भएको देखिएको जिल्ला प्रहरी रुपन्देहीका सूचना अधिकारी डीएसपी मनोहर भट्टले बताए ।

सहकारीको रकम विभिन्न व्यक्ति र कम्पनीका नाममा पठाउने मुख्य आरोपी पूर्वअध्यक्ष जीबी राई र बुटवलस्थित मुख्य कार्यालयका व्यवस्थापक सागर केसीसहित ९ जना फरार छन् ।

राई समूहले सहकारीको १४ करोड भन्दा धेरै रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको अनुसन्धानबाट खुलेको छ ।

भूपेन्द्रबाबु राईको नाममा कर्जा बनाएर ३ करोड ३० लाख रुपियाँ गोर्खा मिडियाको नामको पेश्की फर्छ्यौट गरेको अनुसन्धानले देखाएको छ ।

भूपेन्द्रबाहेक थप १० लाख ९९ लाख ३६ हजारसहित कुल १४ करोड २९ लाख रकम गोर्खा मिडियामा लगानी गरेको देखिएको जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेख छ ।

सरकारी वकिल कार्यालयले सहकारीको रकम हिनामिना गरेको आरोपमा २८ जनाविरूद्ध मुद्दा दायर गरेको थियो । सहकारीको रकम ऋणका रुपमा लैजानेमा संस्थापक अध्यक्ष जीबी राईदेखि पूर्वगृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता देखिएको छ ।

लामिछाने गोर्खा मिडियाका पूर्व कार्यकारी निर्देशक हुन् । प्रहरीको अनुसन्धान प्रतिवेदनमा लामिछानेको नाममा पनि ऋण लगानी भएको उल्लेख छ ।

सुप्रिम सहकारीबाट बचतकर्ताको १ अर्ब ७ करोड रकम मध्ये झण्डै ९० करोड अपचलन भएको थियो । सहकारीमा १० हजार ३ सय ९१ बचतकर्ता रहेका छन् ।

Published : Monday, 2024 August 12, 12:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया