कांग्रेस सभापति शेरचनद्वारा बडीगाडका बाढी र पहिरोपीडितलाई आर्थिकसहितको राहत हस्तान्तरण
बडीगाड । नेपाली कांग्रेस बाग्लुङका सभापति एवम् गण्डकी प्रदेश सभाका सदस्य जीतबहादुर शेरचनले बडीगाडका बाढी र पहिरो पीडितहरूलाई राहत हस्तान्तरण गरेका छन् ।
आइतबार सभापति शेरचनले बडीगाड गाउँपालिकाका बाढी र पहिरो पीडितलाई राहत हस्तान्तरण गरेका हुन् । बाढी र पहिरोबाट १५ जना घाइते भएका थिए ।
अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट साउन २२ गते बडीगाड गाउँपालिका वडा नं.९ र वडा १० आरुपाटाका प्रभावित १२ जनालाई राहत हस्तान्तरण गरिएको नेपाली कांग्रेसका नेता एवम् महाधिवेशन प्रतिनिधि देवेन्द्र घर्ती मगरले बताए ।
बडीगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भीमसेन वन, वडाध्यक्षद्वय बीरेन्द्र बुढा र कृष्ण केसीको उपस्थिति रहेको थियो ।
मृतकका परिवारलाई प्रतिमृतक पाँच हजार र घाइतेहरूलाई प्रतिव्यक्ति दुई हजार हस्तान्तरण गरिएको कांग्रेसका नेता मगरले बताए ।
पीडित २२ घरपरिवारलाई प्रतिपरिवार चामल २५ किलो, दाल ३ किलो, नुन २ किलो, गहुँको पिठो ५ किलो, खाने तेल ३ पोका, मसला १ प्याकेट, बेसार १ प्याकेट, लुगा धुने साबुन ३ वटा, नुहाउने साबुन १ वटा, मन्जन १ वटा, ब्रस १ वटा र मसला १ प्याकेट वितरण गरिएको छ ।
कांग्रेसका युवा नेता समेत रहेका व्यवसायी पूर्ण हमाल, प्रभु ग्रुपका अध्यक्ष एवम् प्रतिनिधि सभाका सांसद देवीप्रकाश भट्टचन, कांग्रेसका नेता राजु रेग्मी, भीमु क्षेत्री, टिलबहादुर अधिकारी र सामाजिक अभियान्ता प्रकाश शेरचनले पनि सहयोग गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया