कांग्रेस–एमालेले कुलमानलाई नहटाउने, माओवादीले गलत हल्ला फैलायो

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसका शीर्ष नेताबीच नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यकालभर काम गर्न दिने अनौपचारिक सहमति भएको छ ।

पछिल्लो समय कुलमानलाई हटाउन लागिएको भनेर र्‍युमर फैलाइएको छ । त्यसपछि कांग्रेस–एमालेका शीर्ष तहका नेताबीच घिसिङलाई कार्यकालभरि व्यवसायिक रूपमा काम गर्न दिने विषयमा छलफल भएको हो ।

कुलमानलाई राम्रो काम गर्दागर्दै हटाउने तयारी भयो भनेर हुँदै नभएको हल्ला फैलाउँदै आन्दोलन समेत सुरु भएको छ ।

शनिबार मात्रै कुलमानलाई हटाउन पाइँदैन भन्दै माइतीघरमा आन्दोलनसमेत भएको थियो । आन्दोलन अराजक भएपछि केही आन्दोलनकारीलाई प्रहरीले पक्राउसमेत गरेको थियो ।

एमाले र कांग्रेसका नेताहरूले घिसिङलाई व्यवसायिक तरिकाले काम गर्नलाई कुनै बाधा अवरोध नहुने वातावरण निर्माण गर्न उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कालाई भनेको एक नेताले बताएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले संसदमा राम्रो काम गर्ने प्रधिकरणका प्रवन्ध निर्देशक कुलमानलाई सरकारले अवरोध गरिरहेको धारणा राख्ने र सड्कमा पार्टीकै अप्रत्यक्ष संलग्नतामा आन्दोलन गराएर आफ्नो पक्षमा माहोल बनाउन खोजिरहेको छ ।

तर, त्यो सत्य नभएको भन्दै कांग्रेस र एमालेले राम्रो काम गर्दागर्दै कोही हट्न नपर्ने र व्यवसायिक तथा जनताको पक्षमा काम गर्नेलाई सत्तारुढ दलबाट कुनै अवरोध नहुने बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीले पनि राम्रो काम गर्ने राज्यका जुनसुकै निकायमा रहेका राष्ट्रसेवकलाई सरकारले थप राम्रो गर्न सहयोग गर्ने सार्वजनिक रूपमै बताउँदै आएका छन् ।

व्यवसायिक र जनपक्षीय काम गर्ने योजना ल्याउनेलाई बजेटको व्यवस्था जसरी पनि गरिने प्रधानमन्त्री ओलीको भनाइ रहँदै आएको छ ।

Published : Saturday, 2024 August 10, 7:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया