संक्रमणकालीन न्यायसम्बन्धी कानून कार्यान्वयनमा निकै ठूलो चुनौती : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संक्रमणकालीन न्यायसम्बन्धी कानून कार्यान्वयनमा निकै ठूलो चुनौती रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सबै पीडितहरू संवाद गरेर एकै ठाउँमा उभिन आग्रह गरेका छन् । ‘यसको कार्यान्वयनमा निकै ठूलो चुनौती छ, राष्ट्र नै एक हुन नसके यो प्रक्रिया बिथोलिएर अर्को १० वर्ष लाग्न सक्छ’, उनले भने ।

लेखकले बलात्कार घटनाका दोषीलाई सजाय कम गर्दा समाजमा राम्रो सन्देश नजाने बताए । उनले भने, ‘जहिले जसरी भए पनि बलात्कार बलात्कार नै हो, त्यसमा कुनै अवस्थाले सजाय फरक हुँदैन ।’

‘देशभरीमा अहिले पनि सबैभन्दा बढी बलात्कार घटनामा दोषी कैदी रहेछन्, यसमा सजाय घट्यो भने समाजमा के सन्देश जाला ?’, गृहमन्त्री लेखकले प्रश्न गरेका छन् ।

सबै सरोकारवालाको चासो हेर्दा संक्रमणकालीन न्यायसम्बन्धी कानूनमा योभन्दा राम्रो गर्न नसकिने लेखकले बताए ।

‘सबै हेर्दा योभन्दा राम्रो के गर्न सकिन्छ ? कति अलमलिने, कति रोकिने ?’, उनले भने, ‘अब यसलाई कार्यान्वयनमा ध्यान दिनुपर्छ ।’

गृहमन्त्री लेखकले संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई पीडितमैत्री बनाउने क्रममा प्रक्रिया लम्बिएको बताएका छन् ।

Published : Saturday, 2024 August 10, 7:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया