एमालेबाट वडाध्यक्ष जितेका राप्ती- ८ का गुरुङ बेलायत उडे

मसुरिया । एमालेबाट दाङको राप्ती गाउँपालिका वडा नं. ८ बाट वडाध्यक्षमा निर्वाचित चन्द्रबहादुर गुरुङ बैदेशिक रोजगारीका लागि बेलायत उडेका छन् ।

वडाध्यक्ष गुरुङले कार्यबाहक वडाध्यक्षको जिम्मेवारी दिएर विदेश उडेका हुन् । गुरुङले वडा सदस्य चम्फा पुनलाई साउन १७ गते कार्यवाहक वडाध्यक्षको जिम्मेवारी तोकेका छन् ।

गुरुङ २०७९ को स्थानीय चुनावअघि कार्यालय सहयोगी रहेका थिए । एमालेले टिकट दिएपछि गुरुङले वडाध्यक्षमा जितेका थिए । वडाध्यक्ष सम्हालेको ३ वर्ष नपुग्दै गुरुङ वैदेशिक रोजगारीका लागि विदेश गएका हुन् ।

कार्यवाहक दिइएको पत्रमा गुरुङले विशेष कामले विदेश जान लागेको उल्लेख गरेको भए पनि कहिलेसम्म भनेर खुलाएका छैनन् ।

परिवारले दिएको जानकारी अनुसार ऋण बढेपछि गुरुङ बेलायत गएका हुन् । स्थानीय तहको चुनावी खर्च र बिरामी आमालाई उपचार गर्दा ऋण लागेको उनको परिवारले जनाएको छ ।

ऋणको ब्याज बढेर ५० लाखको हाराहारी पुग्न थालेपछि वडाध्यक्ष गुरुङ साउन २० गते वैदेशिक रोजगारीका लागि बेलायत उडेका हुन् ।

स्रोतका अनुसार वडाध्यक्ष गुरुङ सिजनल भिसामा बेलायत गएका छन् । उनले पाँच, छ महिनापछि आफू फर्कने बताएका छन् ।

गुरुङ पहिले पनि वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका थिए । ३ वर्ष साउदी अरब र मलेसियामा बसेर घर फर्किए । त्यसपछि फेरि विदेश नै जाने तयारीमा थिए ।

गुरुङले चुनावमा प्रतिस्पर्धी कांग्रेसका प्रभाकरदेव चौधरी र माओवादी केन्द्रका रामचन्द्र चौधरीलाई हराएका थिए ।

Published : Tuesday, 2024 August 6, 9:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया