हवाई दुर्घटना धेरै हुन थालेपछि प्रदीपलाई निलम्बन गरेर छानविन गर्न ओलीसँग कांग्रेसको प्रस्ताव

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई निलम्बन गरेर हवाइ दुर्घटनाबारे छानविन गर्नुपर्ने माग प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले उठाएको छ ।

दुई हप्ता अगाडि सौर्य एयरलाईन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएपछि सरकारले छानविन समिति बनाएको छ । समितिलाई छानविनमा सहयोग गर्न महानिर्देशक अधिकारीलाई तत्कालका लागि निलम्बन गर्न कांग्रेसले प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेको छ ।

कांग्रेसका सांसद उदयशम्शेर जबराले नेपालको हवाई उड्डयन असुरक्षित रहेको बताए । अधिकारीले महानिर्देशक पदको जिम्मेवारी सम्हालेपछि ठूला ठूला हवाई दुर्घटना भइसकेका छन् ।

दुर्घटनाको जिम्मेवारी महानिर्देशक अधिकारीले लिने गरेका छैनन् । कांग्रेसका सभापति शेरबहादुर देउवासहितका सांसदहरुले आइतबार राति प्रधानमन्त्री ओलीलाई भेट गरेर प्राधिकरणको गम्भीर लापरबाहीका विषयमा कुरा उठाएका छन् । कांग्रेसले हवाई उड्डयन सुरक्षाप्रति चासो र चिन्ता जनाएको छ । कांग्रेसले महानिर्देशक अधिकारीलाई निलम्बन गरेर सौर्य एयरलाईन्स दुर्घटनाबारे छानविन गर्नुपर्ने अडान लिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिँदै आएका महानिर्देशक अधिकारीको कमजोर व्यवस्थापन र नेतृत्वका कारण हवाई दुर्घटना भइरहेको आरोप छ ।

महानिर्देशक अधिकारीले प्राधिकरणलाई टुक्र्याउन दिएका छैनन् । युरोपियन युनियनले नेपाललाई कालोसूचीबाट हटाउन प्राधिकरणलाई टुक्र्याएर नियामक र सेवा प्रदायक बनाउन सुझाव दिइसकेको छ । त्यो सुझावसहितको प्रतिवेदनलाई महानिर्देशक अधिकारीले लुकाएर राखेका छन् ।

सेवा प्रदायक र नियामक निकाय एउटै भएका कारण सहि तरिकाले हवाई क्षेत्र सुरक्षित हुन नसकेको आरोप छ । प्राधिकरणको महानिर्देशक बन्न महानिर्देशक अधिकारीले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई ठूलो प्रभावमा पारेको आरोप छ ।

यता, महानिर्देशक अधिकारी सबैतिरबाट घेराबन्दीमा परेपछि र कागजात बुझाउन एक हप्ता पाएपछि सार्वजनिक लेखा समितिले बनाएको उपसमितिका सदस्यहरुलाई आफ्नो नजिकको नेताहरुलाई फोन गर्न लगाएर बचाउन आग्रह गरिरहेका छन् ।

यो पटक महानिर्देशक अधिकारीलाई खर्च गर्ने ठेकेदारहरुले पनि सहयोग गर्न रुचि देखाएका छैनन् । हुन त महानिर्देशक अधिकारीविरुद्ध कहिले कसलाई ख्वाउन प¥यो ? कहिले सुंगुरलाई दाना हाल्न पर्‍यो भन्दै पैसा असुलेर खासै फाइदा नगराएको, नेताको नाममा आफ्नो खल्ती भरेको, विदेशमा पनि पैसा लुकाएको भनेर उपसमितिमा उजुरी परेको छ ।

केहि समस्या परेपछि कुरा अन्तै मोड्ने बानी भएको अधिकारीले संसदीय समिति, उपसमिति र प्रतिनिधि सभामा पनि कुरा उठेपछि सबै विमानको सेफ्टी चेक गरेर ६० प्रतिशत कम आएमा ग्राउन्डेड गर्ने तयारी महानिर्देशक अधिकारीले गरेका छन् ।

यसरि सबैको ध्यान अन्तै मोड्ने, निगमलाई फसाउने, निजीसंग पैसा असुल्ने र आफै मिडियामा प्रचार गरेर चोखिने योजना महानिर्देशक अधिकारीले बनाएको आरोप छ ।

महानिर्देशक अधिकारीले आफ्ना साथीभाइसँग अख्तियारमा पैसा खुवाएर बल्लबल्ल मिलाए, फेरि संसदीय समितिले खान खोज्यो भन्दै हिँड्ने गरेको चर्चा प्राधिकरणमा छ ।

Published : Tuesday, 2024 August 6, 8:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया