एमालेले गोकर्ण, योगेश, छबिलाल र रघुवीरको ईञ्चार्ज पद खोस्यो, क–कसले पाए जिम्मेवारी ?

काठमाडौं । एमालेले नेताहरूको जिम्मेवारीहरूमा हेरफेर गरेको छ ।

काठमाडौंमा बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरेको विज्ञप्तिमा उल्लेख छ । नेताहरूलाई मनोनयन र प्रदेश ईञ्चार्जहरूमा समेत हेरफेर गरेको एमालेले जनाएको छ ।

सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, छबिलाल विश्वकर्मा र रघुवीर महासेठलाई प्रदेश ईञ्चार्जको जिम्मेवारीबाट हटाएको छ ।

विष्ट, भट्टराई, विश्वकर्मा र महासेठ चुनाव जितेकाले दोहोरो जिम्मेवारी नदिने नीतिअनुसार ईञ्चार्जबाट हटाइएको एमालेले जनाएको छ ।

सचिवद्वय पद्मा अर्याल र लेखराज भट्टबाहेक अरू प्रदेश ईञ्चार्ज एमालेले तोकेको छ । अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश ईञ्चार्ज छन् । अन्य प्रदेशहरूमा एमालेले नयाँ ईञ्चार्ज बनाएको छ ।

कोशीको ईञ्चार्जमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई र कर्णालीमा गोरखबहादुर बोगटीलाई प्रदेश ईञ्चार्ज बनाएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि कोशीमा महासेठ, मधेशमा भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा विष्ट ईञ्चार्ज रहेका थिए ।

जिल्ला, निर्वाचन क्षेत्र तथा क्षेत्रगत फाँटको ईञ्चार्ज, प्रमुख तथा संयोजकको जिम्मेवारी पनि एमालेले दिएको छ ।

Published : Thursday, 2024 August 1, 10:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया