रवि लामिछाने निकटका कँडेल–ढुङ्गानाको सिधाकुराको भदौ ६ गते फैसला
काठमाडौं । सर्वोच्च अदालतको अवहेलना मुद्दामा सिधा कुरा नामक अनलाइन र युट्युब च्यानलका प्रकाशक, कार्यकारी सम्पादकविरुद्धको मुद्दामा भदौ ६ गते फैसला (निसु) आउने भएको छ ।
बिहीबार सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले सिधाकुरा अनलाइन र युट्युबको मुद्दामा सुनुवाइ गरी फैसला मिति तोकेको हो ।
सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार बहसमा सहभागी कानुन व्यवसायीहरूलाई १५ दिनभित्र बहस नोट पेस गर्ने समय दिइएको छ ।
अवहेलना मुद्दामा १५ दिनभित्र बहस नोट पेस गर्ने र भदौ ६ मा निसुको मिति तोकिएको छ ।
सर्वोच्च अदालतले सिधा कुरा अनलाइनका सञ्चालक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालगायतविरुद्ध अदालतको अवहेलना मुद्दा ९ जना न्यायाधीशको बृहत् पूर्ण इजलास गठन भएको थियो ।
बृहत् पूर्ण इजलासमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, हरिप्रसाद फुँयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेशशर्मा पौडेल र बालकृष्ण ढकाल रहेका छन् ।
सिधा कुरानामको अनलाइनले सर्वोच्च अदालतका न्यायाधीश, मिडिया सञ्चालक, कानून व्यवसायीका सम्बन्धमा भ्रामक प्रचार सामग्री तयार पारी प्रसारण र प्रकाशन गरेको थियो ।
सिधा कुराले तयार पारेको अडियो सामग्री भ्रमक र असत्य भएको प्रहरी अनुसन्धानबाट स्पष्ट भएको छ ।
प्रहरीले तयार पारेको प्रतिवेदनका आधारमा सिधा कुराका प्रकाशक र कार्यकारी सम्पादकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । कँडेल र ढुङ्गाना हाल फरार रहेका छन् । सिधाकुरा अनलाइन र युट्युब सञ्चालन गर्ने कँडेल र ढुङ्गाना रास्वपाका सभापति एवम् तत्कालीन गृहमन्त्री रवि लामिछाने निकटका मानिन्छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया