सांसद गुरुङद्वारा गृहमन्त्री र सिंचाइमन्त्रीसँग भेटवार्ता, मनाङको समस्या लिखित रुपमा बुझाए
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङले गृहमन्त्री रमेश लेखक र उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री दीपक खड्कासँग मनाङ जिल्लाको समस्या र विकास निर्माणका कामहरू लगायतका विषयमा जानकारी गराएका छन् ।
सोमबार सिंहदरबारस्थित मन्त्रालयमा सांसद गुरुङले लेखक र खड्कालाई अलग अलग भेट गरेर पर्यटकीय महत्व बोकेको मनाङलाई विशेष ध्यान दिन आग्रह गरेका हुन् । सांसद गुरुङको सचिवालयका अनुसार गृहमन्त्री लेखक र उर्जामन्त्री खड्कासँग कांग्रेस–एमाले नेतृत्वको सरकारको कार्यकालमा मनाङको विकासमा विशेष ध्यान पुग्ने विश्वास लिएको बताएका छन् ।
गुरुङले मनाङको पर्यटनलाई प्रचुर मात्रामा उपभोग गरेर आर्थिक लाभका लागि विशेष योजनाहरू ल्याउन आग्रह पनि गरेका छन् । उनले प्राकृतिक विपतमा मनाङले ठूलो समस्या भोग्दै आएको भन्दै त्यसको रोकथामका लागि सरकारी तवरबाट उचित कदम छिटो उठाउन पनि आग्रह गरेको गुरुङको सचिवालयले जनाएको छ ।
सांसद गुरुङले मनाङलाई जोड्ने चामे–बेशिसहर सडकखण्डमा निकै समस्याहरू रहेको भन्दै दीर्घकालीन उपायका लागि आग्रह गरेका छन् ।
गुरुङले लेखकसँग नासों गाउँपालिका वडा नं. १ तालगाउँको बाचाउका लागि भइरहेका प्रयासबारे जानकारी गराउँदै हाल भइरहेको कार्य आपतकालीन् समाधान भएको जानकारी गराएका छन् । त्यसका लागि दीर्घकालीन समाधानका उपायहरू अविलम्ब अवलम्बन गरी तालगाउँलाई जोएर त्यहाँ हुनसक्ने प्राकृतिक विपदका रोकथामका लागि सांसद गुरुङले गृहमन्त्री लेखकसँग आग्रह गरेका छन् । सांसद गुरुङले तालगाउँबाट मानवीय क्षति हुन सक्नेमा पूर्वजानकारी गराएका हुन् ।
र्स्याकु खोला, तिमाङ झरनामा रहेको पुलहरूमा क्षति हुँदा मनाङमा मानवीय संकट पर्ने गरेको भन्दै दीर्घकालीन रुपमा कार्य गर्न लागि पनि गुरुङले आग्रह गरेका छन् ।
सिंचाइमन्त्री खड्कासँग पनि सांसद गुरुङले नासों गाउँपालिका वडा नं. १ ताल संरक्षणका लागि आग्रह गरेका छन् ।
सांसद गुरुङ र उनको नेतृत्वको टोलीले मनाङ जिल्लाका समस्याहरू लिखित रुपमा गृहमन्त्री लेखक र उर्जामन्त्री खड्कालाई भेट गरेर जानकारी गराएका हुन् । मनाङको समस्याका बारेमा आफूहरू गम्भीर रहेको लेखक र खड्काले बताएका छन् ।
सांसद गुरुङ मनाङको विकास र समस्या समाधानका लागि आफै स्थलगत अनगुमनमा जाने, सरोकारवाला निकायमा समन्वय गर्ने लगायतका कार्यहरू गरिरहेका छन् । उनले वर्षातका कारण क्षति पुगेको २ वटा पुलहरूलाई मर्मत सम्भार गरेर आवागमन सुचारु गराएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया