विवादास्पद महानिर्देशक अधिकारीलाई बर्खास्त गर्न कांग्रेसको प्रस्ताव, नलिनचोकमा करोडौं भ्रष्टाचार
काठमाडौं । नेपाली कांग्रेसले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा माग गरेको छ ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेसका सांसद उदयशम्शेर राणाले प्राधिकरणका महानिर्देशक अधिकारीको राजीनामा माग गरेका हुन् । अधिकारीको कार्यकालमा एकपछि अर्को हवाई दुर्घटना हुन थालेपछि राजीनामा दिनुपर्ने राणाले माग गरेका छन् ।
सांसद राणाले अधिकारी प्राधिकरणको महानिर्देशक बनेपछि ७ वटा हवाई दुर्घटना भएको बताए । दुर्घटनामा ११८ बढी मानिसले ज्यान गुमाएको भन्दै सांसद राणाले महानिर्देशक अधिकारीको नैतिकमा प्रश्न उठिसकेको बताए । राणाले अधिकारीलाई महानिर्देशक पदबाट तत्काल राजीनामा दिन सुझाव दिए ।
राजीनामा नदिए महानिर्देशक अधिकारीलाई सरकारले अनुसन्धानको दायरमा ल्याउनुपर्ने सांसद राणाले माग गरेका छन् ।
‘फेब्रुअरी २०२२ मा नियुक्त भएका डीजीले साढे दुई वर्ष प्राधिकरणको जिम्मेवारी लिनुभएको छ’, कांग्रेसका सांसद राणाले भने, ‘उहाँको कार्यकालमा ७ वटा हवाई दुर्घटना भएका छन् ।’
उनले भने, ‘११८ भन्दा बढी यात्रुको मृत्यु भएको छ । समितिको मिटिङमा उहाँले हवाई दुर्घटनाको आफूले जिम्मेवारी लिन्छु भन्नु भएको थियो । योभन्दा पनि पहिले उहाँले यस्तै भन्नु भएको थियो ।’
सांसद राणाले प्रश्न गर्दै भने, ‘राजीनामा दिनुपर्दैन ? डीजीले राजीनामा नदिए नेपाल सरकारले अनुसन्धान चलिरहेको बेलासम्म सस्पेन्ड गर्नु पर्दैन ?’
सांसद राणाले हवाई दुर्घटनामा प्राधिकरणको जिम्मेवारी हुन्छ कि हुँदैन ? भनेर प्रश्न गरेका छन् ।
राणाले भने, ‘हवाई दुर्घटनाको प्राधिकरणको कहिले दोष हुँदैन ? प्राधिकरणले कहिले जिम्मेवारी लिनुपर्देन ?’
सन् १९६२ देखि हालसम्म नेपालमा ७२ वटा हवाई दुर्घटना भएको र त्यसमा ९३५ जनाले ज्यान गुमाएको राणाले बताएका छन् ।
दुर्घटनापछि बनेका आयोगका रिपोर्टहरूले पनि पाइलट, हवाई जहाज र मर्मतका नाममा दोषी देखाउने तर , प्राधिकरणलाई दोषी करार नगरेको कांग्रेसका सांसद राणाले बताएका छन् ।
बुधबार मर्मतका लागि काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका छन् ।
सांसद राणाले नलिनचोक हेलिपोर्टमा पाइलटहरूले अनुपयुक्त रहेको भनेर आन्दोलन गरेको भन्दै त्यस विषयमा पनि महानिर्देशक अधिकारीमाथि अनुसन्धान गर्नुपर्ने बताए । नलिनचोक हेलिपोर्टको भ्रष्टाचारबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा महानिर्देशक अधिकारीविरुद्ध उजुरी परेको पनि बताएका छन् ।
महानिर्देशक अधिकारी पोखरा र भैरहवा विमानस्थलको तत्कालीन आयोजना प्रमुख रहेको भन्दै सांसद राणाले त्यस बेला ती विमानस्थलमा भएका अनियमितता र त्रुटिको जिम्मेवारी पनि महानिर्देशक अधिकारीले लिनुपर्ने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया