सांसद थापाद्वारा भक्तपुरको पदम हाइस्कुलको जीर्ण भवन बनाउन माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद दुर्लभ थापा क्षेत्रीले भक्तपुरको पदम विद्यालयको भवन जीर्ण भएको भन्दै भवन निर्माणका लागि नेपाल सरकारसँग अनुरोध गरेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद थापाले विभिन्न निकायबाट सहयोगको आश्वासन आए पनि विद्यालयको जीर्ण भवनमा बसेर विद्यार्थीले अध्ययन गरिरहेको बताए । उनले तैपनि विद्यालयले एसईईको नतिजा उल्लेख्य राम्रो ल्याएको बताएका छन् ।
उनले भने, ‘सुन्दा अचम्म लाग्न सक्छ देशको राजधानीसँग जोडिएको भक्तपुर जिल्लामा सबैभन्दा जेठो स्कुल पद्म हाइस्कुल छ । २००३ सालमा स्थापित उक्त विद्यालय भवन २०७२ सालको भूकम्पले तहसनहस भइरहेको छ ।’
‘तथापि त्यसमा पढाइ भइरहेको छ । एसईईको रिजल्टमा उत्कृष्ट नतिजा ल्याएको छ’, सांसद थापाले भने ।
‘उक्त भवन निर्माणको लागि विभिन्न दातृ निकायहरूले सहयोग पुर्याउँछु भन्दाभन्दै पनि उक्त भवन अहिलेसम्म बनेको छैन’, थापाले भने ।
‘बागमती प्रदेश सरकारको ०७८/७९ को बजेटमा ७८ करोड बिनियोजन हुने हल्ला चलेको थियो । तै पनि त्यो रकम बागमती सरकारबाट निकासा भएको छैन । अलिम्ब सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु । भक्तपुरकै जेठो विद्यालय अहिले जीर्ण भवनको रुपमा परिणत भएको छ । उक्त भवन छिटो निर्माण गर्नका लागि नेपाल सरकारसँग अनुरोध गर्न चाहन्छु’, सांसद थापाले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया