विपिन जोशी हमासको नियन्त्रण मुक्त भई चाँडै घर फर्कनु हुनेछ : परराष्ट्रमन्त्री डा.राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग विपिन जोशीका आफन्तले भेट गरेर उद्धारका लागि अनुरोध गरेका छन् ।
सोमबार सिंहदरबारमा मन्त्री डा.राणासँग जोशीका बुबाआमासहितका आफन्तले भेट गरेर हमासको नियन्त्रणबाट मुक्त बनाउन कुटनैतिक पहल गर्न आग्रह गरेका हुन् ।
नेपाली विद्यार्थी जोशी गत वर्षदेखि हमास समूहको नियन्त्रणमा छन् । अध्ययनका लागि इजरायल गएका जोशीलाई हमासले नियन्त्रणमा लिएर राखेको छ ।
परराष्ट्रमन्त्री डा.राणाले जोशीको रिहाइका लागि सरकारले गरिरहेको प्रयासका विषयमा आफन्तलाई जानकारी गराएकी छिन् ।
‘विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले गरेको पहल तथा म परराष्ट्रमन्त्री भएपछि गरेको प्रयासका बारेमा पनि वहाँहरूलाई जानकारी गराएँ’, परराष्ट्रमन्त्री डा.राणाले भनिन् ।
‘विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले कुनै कसर बाँकी नराखी काम गरिरहेको छ’, डा.राणाले भनिन्, ‘आशा छ उहाँ नियन्त्रण मुक्त भई चाँडै घर फर्कनु हुनेछ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया